अमेरिकाका न्यूयोर्क, न्यूजर्सी र कोलोराडोमा नेपाल डे परेडको भव्य तयारी

घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस

अमेरिकाका न्यूयोर्क, न्यूजर्सी र कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायले “नेपाल डे परेड २०२६” लाई भव्य रूपमा मनाउने तयारी गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत विभिन्न सामाजिक, जातीय तथा क्षेत्रीय संस्थाहरूले संयुक्त रूपमा परेडलाई नेपाली कला, संस्कृति र पहिचानको उत्सवका रूपमा मनाउन लागेका हुन्। नेपाली मौलिक कला, संस्कृति, र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालीहरूको सक्रियतामा यो सांस्कृतिक उत्सव हुन लागेको हो।

कोलोराडोमा २२ वर्षदेखिको गौरवमय परम्परा

कोलोराडो राज्यको प्रमुख शहर बोल्डरमा आगामी मे १६, २०२६ मा भव्य “नेपाल डे परेड” आयोजना हुँदैछ। सन् २००४ देखि निरन्तर आयोजना हुँदै आएको यस ऐतिहासिक परेडको नेतृत्व रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएमएफएन) ले गर्दै आएको छ।

बोल्डर ब्यान्डशेलमा दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा मौलिक नेपाली भेषभूषा, सांस्कृतिक झाँकी, पञ्चेबाजा, धिमे बाजा तथा नेपाली राष्ट्रिय झण्डाको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहने जनाइएको छ।

कोलोराडोस्थित नेपाली समुदायले यस परेडलाई २२ वर्षदेखिको गौरवमय परम्पराका रूपमा लिँदै आएका छन्। आयोजकका अनुसार कोलोराडोमा नेपाली समुदायको संख्या बढ्दै जाँदा नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्न तथा अमेरिकी समुदायमाझ नेपालको पर्यटन र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्न परेड प्रभावकारी माध्यम बन्दै आएको छ।

न्यूयोर्कमा १०औँ नेपाल डे परेड

यसैगरी, न्यूयोर्कस्थित नेपाली समुदायले आगामी मे १७ मा १०औँ “नेपाल डे परेड” आयोजना गर्ने भएका छन्। न्यूयोर्कको म्यानहटनमा आयोजना हुने परेडको आयोजना गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूयोर्क च्याप्टर र फिपना संस्थाले संयुक्त रूपमा गर्दैछन्।

आयोजकहरूले यस वर्षको परेडलाई “नेपाली सम्पदाको सामूहिक उत्सव” का रूपमा मनाउने बताएका छन्। परेड बिहान ११ बजेदेखि ३८ स्ट्रिट र म्याडिसन एभिन्यूबाट सुरु हुने जनाइएको छ।

न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा नेपाली झाँकी, राष्ट्रिय झण्डा, सांस्कृतिक नृत्य तथा विभिन्न समुदायका पारम्परिक प्रस्तुति आकर्षणका रूपमा रहनेछन्।

न्यूजर्सीमा जून ६ मा सांस्कृतिक उत्सव

अमेरिकाको न्यूजर्सी राज्यमा रहेका नेपाली समुदायले आगामी जून ६ मा “नेपाल डे परेड” आयोजना गर्ने तयारी गरेका छन्। “एकता, संस्कृति र गौरवको उत्सव” भन्ने नारासहित फेयर लन, न्यूजर्सीमा आयोजना हुने कार्यक्रमलाई नेपाली समुदायले सांस्कृतिक उत्सवका रूपमा मनाउने भएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजर्सी च्याप्टर तथा स्थानीय नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा हुने कार्यक्रममा विभिन्न जातीय तथा सांस्कृतिक झाँकी, लाखे नाच, परम्परागत नृत्य तथा नेपाली मौलिक कला–संस्कृतिको जीवन्त प्रदर्शन गरिनेछ।

त्यसैगरी, नेपाली भेषभूषा, गरगहना तथा सांस्कृतिक पहिचानको प्रदर्शनीसमेत गरिने आयोजकहरूले बताएका छन्। कार्यक्रममा न्यूजर्सी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई एकताबद्ध गर्दै नयाँ पुस्तामा नेपाली भाषा, संस्कृति र पहिचान हस्तान्तरण गर्ने उद्देश्य राखिएको जनाइएको छ।

Leave A Reply

Your email address will not be published.