समाजसेवी पदम ठकुराठीको नेतृत्वमा ग्यान्सको नयाँ कार्यसमिति चयन

नारायण भण्डारी
अस्टिन, टेक्सास

टेक्सासको राजधानी अस्टिनमा सक्रिय नेपाली समुदायको संस्था ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) मा नयाँ नेतृत्व चयन भएको छ। ग्यान्सको आइतबार सम्पन्न निर्वाचनबाट समाजसेवी पदम ठकुराठीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन समितिद्वारा घोषित परिणामअनुसार अध्यक्ष पदमा पदम ठकुराठी ४७५ मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोककुमार शाही ४२१ मत, महिला उपाध्यक्षमा सपना राउत ४२७ मत, उपाध्यक्षमा धिरेन्द्र कुमार यादव ४१७ मत, महासचिवमा सूर्य कार्की ४४५ मत, सचिवमा प्रिन्स भट्ट ४१५ मत तथा कोषाध्यक्षमा नारायण प्रसाद रिजाल ४३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

कार्यसमिति सदस्यहरूमा दीपक हुमागाईं ४२२ मत, एलिजा थापा पौडेल ४१४ मत, विनाम आचार्य ४१३ मत तथा प्रदीप कुमार भडेल ४०० मत प्राप्त गरी विजयी हुनुभएको छ।

करिब १ हजार १ सय साधारण सदस्य रहेको यस संस्थाको निर्वाचनमा करिब ९ सय सदस्यले मतदान गरेका थिए। संस्थाको विधानअनुसार कार्यसमितिले थप ६ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ।

यसैगरी आइतबार ग्यान्सअन्तर्गत रहेको पशुपतिनाथ मन्दिर बोर्ड अफ ट्रस्टीको पनि निर्वाचन गरिएको थियो। आठ सदस्यीय बोर्ड अफ ट्रस्टीको प्रमुखमा देवराज न्यौपाने तथा उपप्रमुखमा निरोज मानन्धर निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी सदस्य पदका लागि भएको निर्वाचनमा टिकामाया गुरुङ, सूर्यनारायण शाह, सुरज अधिकारी, वर्षा गौतम, हर्षबहादुर नकर्मी तथा रोशन गोसाईं चयन हुनुभएको छ।

सन् २०१३ मा स्थापना भएको ग्रेटर अस्टिन नेपाली समाजमा अस्टिन आसपासका १९ वटा काउन्टीमा बसोबास गर्ने नेपालीहरू आबद्ध रहेका छन्। ग्यान्सले लोकतान्त्रिक विधिबाट आफ्नो नेतृत्व चयन गर्दै आएको छ।

को हुन् अध्यक्षमा निर्वाचित पदम ठकुराठी ?

ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को अध्यक्ष पदमा निर्वाचित पदम ठकुराठी नेपालको डडेल्धुरा जिल्लाको रुपाल क्षेत्रका निवासी हुनुहुन्छ। उहाँ सन् २००७ मा अमेरिका आउनुभएको हो।

सन् २०१३ मा ग्रेटर अस्टिन नेपाली समाज स्थापना हुँदा ठकुराठी संस्थापक सदस्यका रूपमा सक्रिय रहनुभएको थियो। सन् २०१४ मा भएको पहिलो साधारण सभाबाट उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो। ठकुराठी संस्थाको ट्रस्टी, गोल्डेन ट्रस्टी तथा पशुपतिनाथ मन्दिर सञ्चालन समितिका सदस्यसमेत रहनुभएको छ।

यसैगरी ठकुराठी विगत एक दशकदेखि एनआरएनए अभियानमा पनि सक्रिय रहँदै आउनुभएको छ। उहाँ सन् २०१६ मा एनआरएनए टेक्सास च्याप्टरको सचिव, सन् २०१९ देखि २०२१ सम्म एनसीसीको बोर्ड अफ डाइरेक्टर तथा सन् २०२३ देखि २०२५ कार्यकालका लागि आईसीसी सदस्य पदमा निर्वाचित हुनुभएको थियो । ठकुराठी बिगत एक दशक अघिदेखि व्यापार व्यवसायमा संलग्न छन ।

Leave A Reply

Your email address will not be published.