प्रवासमा नेपाली भाषा पाठशाला विस्तार अभियान : साझा पाठ्यक्रम निर्माणका लागि डलासमा अन्तर्राष्ट्रिय गोष्ठी आजदेखि

घण्टेश्वर अनलाइन
डलास (टेक्सस), अमेरिका

प्रवासमा नेपाली समुदायको बसोवास निरन्तर बढ्दै गएसँगै नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण गर्ने उद्देश्यले नेपाली भाषा पाठशालाको विस्तार, विकास तथा गुणस्तर अभिवृद्धिका लागि अभियान सुरु गरिएको छ। अमेरिका–स्थित नेपाली संस्थाहरूको सञ्जाल र नेपाली समाज टेक्ससको संयुक्त पहलमा यो अभियान अघि बढाइएको हो।

हाल अमेरिकाका विभिन्न राज्यका साथै क्यानडा, युरोप, अष्ट्रेलियालगायत नेपाली समुदायको उल्लेख्य बसोवास रहेका मुलुकमा नेपाली भाषा पाठशाला सञ्चालन भइरहेका छन्। कतिपय स्थानमा नयाँ पाठशाला स्थापना गर्ने तयारीसमेत भइरहेको छ। सञ्चालनमा रहेका तथा स्थापना हुन लागेका पाठशालालाई व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले अभियान सुरु गरिएको अमेरिका–स्थित नेपाली संस्थाहरूको सञ्जालका संयोजक राजेन्द्र वाग्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार हालसम्म अधिकांश प्रवासी नेपाली भाषा पाठशालाले नेपालमा प्रयोग हुने वर्णमाला र पाठ्यपुस्तकका आधारमा नेपाली भाषा शिक्षण गर्दै आएका छन्। तर, प्रवासमा जन्मिएका तथा हुर्किएका बालबालिकाको आवश्यकता र परिवेशलाई ध्यानमा राखेर तयार गरिएको साझा तथा व्यवस्थित पाठ्यक्रमको अभाव रहेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरमा लागू गर्न सकिने साझा नेपाली भाषा पाठ्यक्रम निर्माणको अभियान सुरु गरिएको उहाँले बताउनुभयो।

यसै अभियानअन्तर्गत साझा नेपाली भाषा पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले दुईदिने पहिलो अन्तर्राष्ट्रिय नेपाली भाषा पाठ्यक्रम विकास गोष्ठी आजदेखि टेक्ससको युलेसमा सुरु भएको छ।

नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र युलेसको सभाकक्षमा आयोजित गोष्ठीमा नेपाली भाषा विद्यालयका प्रतिनिधि, भाषा शिक्षक, शिक्षाविद् तथा नेपाली समुदायका अगुवाहरूको सहभागिता रहेको छ। केही देशका प्रतिनिधिहरूले अनलाइनमार्फत समेत सहभागिता जनाइरहेको नेपाली समाज टेक्ससले जनाएको छ।

गोष्ठीमा नेपाली भाषा शिक्षणका अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान, साझा पाठ्यक्रम निर्माण, आधुनिक शिक्षण विधि, सिकाइ सामग्री विकास तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने जनाइएको छ। गोष्ठीबाट विश्वभर सञ्चालन भइरहेका नेपाली भाषा पाठशालामा प्रयोग गर्न सकिने साझा, व्यवस्थित र गुणस्तरीय नेपाली भाषा पाठ्यक्रम तयार गर्ने लक्ष्य राखिएको छ।

गोष्ठी आयोजनाका लागि नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र र अन्तर्राष्ट्रिय साहित्य समाजले सहयोग गरेका छन्। गोष्ठीको आयोजना तथा संयोजन अमेरिका–स्थित नेपाली संस्थाहरूको सञ्जाल र नेपाली समाज टेक्ससले गरेका हुन्।

प्रवासमा सञ्चालित नेपाली भाषा पाठशालामध्ये नेपाली समाज टेक्ससद्वारा सञ्चालित ग्लोबल नेपाली पाठशालालाई नमुना तथा व्यवस्थित पाठशालाका रूपमा लिइन्छ। नेपाली समाज टेक्ससको स्थापना भएसँगै सन् १९९८ मा सुरु भएको उक्त पाठशालाले सन् २०१३ देखि आफ्नै पाठ्यक्रम, पाठ्यपुस्तक तथा अभ्यास पुस्तिका विकास गरी प्रयोगमा ल्याउँदै आएको छ।

Leave A Reply

Your email address will not be published.