घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावास आगामी भदौ १६ गते (सेप्टेम्बर १, २०२६) देखि औपचारिक रूपमा बन्द हुने भएको छ । महावाणिज्यदूतावास बन्द हुने निर्णयसँगै त्यहाँबाट प्रदान हुँदै आएका राहदानी, भिसा तथा अन्य सम्पूर्ण कन्सुलर सेवासमेत बन्द हुने भएका छन् ।
नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावाससहित केही नेपाली नियोगहरू बन्द गर्ने घोषणा गरेअनुसार उक्त निर्णय कार्यान्वयनको चरणमा पुगेको हो ।
महावाणिज्यदूतावासले सार्वजनिक गरेको सूचनाअनुसार भदौ १५ गते (अगस्ट ३१, २०२६) सम्म मात्र राहदानी, भिसा तथा अन्य कन्सुलर सेवा उपलब्ध हुनेछ । त्यसपछि महावाणिज्यदूतावासबाट प्रदान गरिँदै आएका सबै सेवा पूर्ण रूपमा बन्द हुने जनाइएको छ ।
दूतावासले सेवा आवश्यक पर्ने सेवाग्राहीलाई तोकिएको समयसीमाभित्रै आवश्यक प्रक्रिया पूरा गरी सेवा लिन आग्रह गरेको छ । साथै जुलाई ६, २०२६ सम्म महावाणिज्यदूतावासमा स्वयं उपस्थित भएर वा घुम्ती राहदानी सेवामार्फत आवेदन दिएका सेवाग्राहीहरूको नयाँ राहदानी तयार भइसकेकाले यथाशीघ्र महावाणिज्यदूतावासमा सम्पर्क गरी राहदानी बुझिलिन अनुरोध गरिएको छ ।
सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासले हालसम्म अमेरिकाको पश्चिमी क्षेत्रका नेपालीलाई राहदानी नवीकरण, भिसा, कानुनी कागजात प्रमाणीकरण, पावर अफ अटर्नी, ट्राभल डकुमेन्ट, गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्रलगायत विभिन्न कन्सुलर सेवा प्रदान गर्दै आएको थियो ।
महावाणिज्यदूतावास बन्द हुने निर्णयसँगै अमेरिकाको पश्चिमी क्षेत्रका ११ राज्यहरु क्यालिफोर्निया, एरिजोना, नेभाडा, युटा, वायोमिङ, आइडाहो, ओरेगन, मोन्टाना, वासिङ्टन, अलास्का र हवाई लगायत पश्चिमी अमेरिकामा बसोबास गर्ने हजारौँ नेपाली प्रत्यक्ष प्रभावित हुने भएका छन् । अब उनीहरूले राहदानी तथा अन्य कन्सुलर सेवा प्राप्त गर्न नेपाल सरकारले गर्ने वैकल्पिक व्यवस्था वा भौगोलिक रूपमा टाढा रहेको वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासबाट सेवा लिनुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।
नेपाल सरकारले वि.सं. २०८१ पुस २६ गते सान फ्रान्सिस्कोमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्ने निर्णय गरेको थियो । त्यसअनुसार वि.सं. २०८२ असार १७ गते महावाणिज्यदूतावास औपचारिक रूपमा स्थापना भएको थियो । अमेरिकी सरकारबाट आवश्यक स्वीकृति प्राप्त भएपछि वि.सं. २०८२ असोज ६ गते (सेप्टेम्बर २२, २०२५) देखि राहदानी तथा कन्सुलर सेवा औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।
महावाणिज्यदूतावासको तथ्याँक अनुसार स्थापना भएदेखि वि.सं. २०८३ असार मसान्तसम्म कुल २ हजार ७ सय ६९ जना नेपाली तथा अन्य सेवाग्राही लाभान्वित भएका छन् ।
यस अवधिमा कार्यालयले २ हजार १ सय १५ वटा विद्युतीय राहदानी, ३२ वटा एकतर्फी यात्रा अनुमतिपत्र, १ सय ३३ वटा अधिकारपत्र (वारेशनामा) प्रमाणीकरण, ३ सय १५ वटा नेपाल प्रवेश भिसा, ४७ वटा गैरआवासीय नेपाली (एनआरएन) परिचयपत्र, २० वटा नेपाली नागरिकता परित्यागसम्बन्धी सेवा तथा १ सय १० वटा विभिन्न कन्सुलर कागजात प्रमाणीकरण गरी सेवा प्रदान गरिएको वाणिज्यदूत देवदूत ढकालले जानकारी दिनु भयो ।
महावाणिज्यदूतावासका अनुसार उक्त अवधिमा सेवा शुल्कस्वरूप ४ लाख ५ हजार २ सय ७९ अमेरिकी डलर ५० सेन्ट राजस्व संकलन भएको छ ।
