घण्टेश्वर अनलाईन
दिपायल
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र २० जरिवाना हुने भएको छ । उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो । कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत नगर प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै परेको निबेदनमा उच्च अदालतले उक्त फैसला सुनाएको सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिनु भयो ।
प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यान दिँदै न्यूनतम सजाय गर्दा न्यायको मक्सद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालत दिपायलले जनाएको छ ।
प्रतिबादी पाण्डेले विसं २०७७ वैशाख २७ गते आफ्नो फेसबुक पेजमा नगर प्रमुख प्रमुख वडलाई लक्षित गर्दै जातीय विभेद हुने गरी लेखेको विषयमा उजुरी परेको थियो । तत्कालीन समयमा पतिराम सोवसहित चार जनाले पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । सोही मुद्दामा कैलाली जिल्ला अदालतले २०७७ मँसिर ३० गते प्रतिवादी पाण्डेलाई ५ सय जरिवाना गराएको थियो । उच्च अदालत दिपायलले कैलाली जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २० हजार जरिवाना सहितको सजाय सुनाएको हो ।