घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायले यस बर्षको क्रिसमस डे पर्व मनाएका छन । इसाई धर्मालम्बीहरुले मात्र मनाउने भएपनि ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने हिन्दु नेपाली समुदायले समेत क्रिसमस पर्ब हर्षोल्लासमा साथ मनाए । क्रिसमस पर्बका अवसरमा हिन्दु धर्मालम्बी नेपालीहरुले पनि घरघरमा दुईसाता अघि देखि क्रिसमस ट्रि का साथै रँगीन क्रिसमस लाईटले घर सजाएका थिए । यहाँका सार्बजनिक स्थानमा सजाईएका क्रिसमस लाईट हेर्न सपरिवार अवलोकन गर्न गएका नेपालीहरुको बाक्लो उपस्थित देखिन्थ्यो ।
क्रिसमस पर्बका अवसरमा ड्यालस र फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली समुदायका मण्डलीहरुले बुधबार बिशेष कार्यक्रमको आयोजना गरे । क्रिसमस डेका अवसरमा येशु ख्रिष्टको जन्मदिनको खुशियालीमा नेपाली समुदायका मण्डलीहरुमा केक काटेर खुशियाली साटासाट गरिएको थियो ।
यसैगरि टेक्सासको फोर्टवर्थ सागिना स्थित जिवित मित्र मण्डलीले बुधबार बिबिध साँस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, प्रबचन, उपहार तथा शुभकामना आदान प्रदानका साथै दिवा भोज कार्यक्रम आयोजना गरेको थियो । जिवित मित्र मण्डलीको सभाकक्षमा आयोजना गरिएको क्रिसमस कार्यक्रममा मण्डलीका पास्टर दल तामाङले मेरी क्रिसमस पर्बको महत्व, येशुको शिक्षा एवं उपदेशको वारेमा प्रबचन दिनु भएको थियो ।
यसैगरि टेक्सासको ड्यालस स्थित नेपाली गसफल सर्कल मण्डली अर्भिङले यस बर्षको क्रिसमस पर्बको अबसरमा बुधवार अर्भिङमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो । अर्भिङ स्थित क्यालभरी चर्चको सभाकक्षमा आयोजना गरिएको क्रिसमस पर्ब कार्यक्रमा नेपाली समुदायका अगुवाहरु, सामाजिक अभियन्ताहरु, पत्रकारहरुको पनि सहभागिता रहेको थियो ।
उक्त अवसरमा बिविध साँस्कृतिक कार्यक्रम, सन्देशमूलक नाटक, शुभकामना तथा उपहार आदान प्रदान कार्यक्रम आयोजना गरिएको नेपाली गसफल सर्कल मण्डली अर्भिङका पास्टर राजेन्द्र थापाले जानकारी दिनु भयो । क्रिसमस डेमा बोल्ने बक्ताहरुले क्रिसमस केवल एउटा चाड मात्र नभएर एक प्रिय परम्परा भएकाले परिवार र समुदायलाई एकजुट बनाउने बिचार व्यक्त गरेका थिए ।
उक्त अवसरमा नेपाली समाज टेक्सासद्वारा बालबालिकाहरुका लागि उपलब्ध गराईएको उपहारहरु बितरण गरिएको थियो ।
येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीहरुले हरेक बर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २५ का दिन क्रिसमस मनाउने गर्दछन ।


