घण्टेश्वर अनलाईन
ड्यालस टेक्सस
टेक्सस राज्यको ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले यस वर्ष होली पर्वलाई दुई दिन सम्म उत्सवका रूपमा मनाएका छन् । नेपाली समाज टेक्सस तथा ईन्द्रेणी साँस्कृतिक संघको आयोजना र यहाँ सक्रिय दुई दर्जनभन्दा बढी नेपाली संघ–संस्थाको सहभागितामा “मेघा होली उत्सव” मनाईएको हो ।
ड्यालसको ग्रेपभाईन स्थित सार्वजनिक पार्कमा आयोजित कार्यक्रममा नेपालीहरुले एकआपसमा रङ दलेर होलीको शुभकामना आदान प्रदान गरेका थिए । साथै विविध सांस्कृतिक प्रस्तुति, नेपाली गीत–संगीत र नृत्यले वातावरण उल्लासमय बनेको थियो । नेपालका विभिन्न जातीय तथा क्षेत्रीय संस्कृतिको झल्को दिने प्रस्तुतिहरूले प्रवासमा पनि नेपाली पहिचान जीवन्त रहेको सन्देश दिएका थिए ।
ड्यालस–फोर्टवर्थ क्षेत्रमा मात्र नेपाली समुदायका एक सयभन्दा बढी संस्था क्रियाशील रहेका छन् । विगतका वर्षहरूमा ती संस्थाले आ–आफ्नै रूपमा होली आयोजना गर्दै आए पनि गत बर्ष देखि सामूहिक रूपमा मेघा होली उत्सव मनाउने पहल गरिएको थियो । इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष नेत्र पाण्डेले सामूहिक आयोजनाले होली पर्वको महत्व अझ बढाएको बताउनुभयो ।
प्रवासमा रहेर पनि नेपालको भाषा, संस्कृति र पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालका अनुसार कार्यक्रममा तीन हजारभन्दा बढीको सहभागिता रहेको थियो । मेघा होली उत्सबमा लुम्बिनी सेवा समाजको प्रस्तुती पन्चे बाजा, सुदूरपश्चिम नेपाली समाज टेक्ससको होली नृत्य लगायतका कार्यक्रम प्रमुख आकर्षणका रुपमा रहेका थिए ।
होली पर्वलाई विशेषगरी हिन्दू धर्मावलम्बीले मनाउने “रङहरूको पर्व”का रूपमा चिनिन्छ। आपसी मेलमिलाप, सद्भाव र सामाजिक एकताको सन्देश दिने यस पर्वलाई सांस्कृतिक विविधताको प्रतीकका रूपमा पनि लिने गरिन्छ । नेपालमा फागुन पूर्णिमाका दिन पहाडी क्षेत्रमा र भोलिपल्ट तराई क्षेत्रमा होली मनाउने परम्परा रहेको छ । मौलिक संस्कृति जोगाउने महत्वपूर्ण अवसर बनेको छ ।
