टेक्ससको ड्यालसमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिबिर आयोजना हुँदै

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सस
टेक्ससको ड्यालस फोर्टवर्थ क्षैत्रमा सकृय नेपाली समुदायका संस्थाहरुलै र फेब्रुअरी ७, २०२६ (शनिबार) का दिन निःशुल्क स्तन क्यान्सर परीक्षण शिबिर आयोजना गर्दैछन ।
नेपाली समाज टेक्ससको आयोजनामा ड्यालस हेल्थ लायन्स क्लब, मोबाइल मेडिकल केयर युनिट तथा कालिन्दी देवी फाउन्डेसनले संयुक्त रुपमा निःशुल्क स्तन क्यान्सर परीक्षण (Breast Cancer Screening) शिबिर आयोजना गर्न लागैका हुन् ।
शिबिर फेब्रुअरी ७, २०२६ (शनिबार) का दिन बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म टेक्ससको युलेसस्थित नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र भवन 1212 Royal Parkway, Euless, Tx\ 76040  मा सञ्चालन हुनेछ । आयोजकका अनुसार शिबिरमा ४० वर्ष वा सोभन्दा माथिका महिलाहरू र अन्तिम म्यामोग्राम गरेको कम्तीमा एक वर्ष पूरा भएका महिलाहरूले परीक्षण गराउन सक्नेछन् ।
स्तन क्यान्सरको प्रारम्भिक पहिचानले उपचारको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने भएकाले समुदायका महिलाहरूलाई परीक्षणमा सहभागी हुन आयोजक संस्थाहरूले आग्रह गरेका छन् ।
शिबिर निःशुल्क तथा सर्वसाधारणका लागि खुला रहनेछ र वाक–इन सहभागीता समेत स्वीकार गरिने जनाइएको छ ।

टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोवास रहेकाले समुदायलाई स्तन क्यान्सरबारे सचेत गराउने, साथै निःशुल्क परीक्षणमार्फत स्वास्थ्य अवस्थाको पहिचान गर्ने उद्देश्यले आयोजक संस्थाहरूले हरेक वर्ष नियमित रूपमा यस्ता शिबिरहरूको आयोजना गर्दै आएका छन्।

स्तन क्यान्सरका ८ लक्षण र सुरुमै पहिचान गर्ने उपाय
स्तन क्यान्सर के हो ?
– स्तनमा रहेका कोषहरुबाट विकसित हुने यो क्यान्सर पुरुष, महिला दुवैमा हुनसक्छ र शरीरका अरु भागमा पनि फैलन सक्छ ।

स्तन क्यान्सर

स्तन क्यान्सरको अवस्था के छ ?
– यो क्यान्सर जुनसुकै भूगोल र जातजातिका महिलामा हुनसक्छ । महिलाको जीवनकालमा प्रत्येक ८ मा १ जनामा पाइएको छ ।
– यो क्यान्सर प्रत्येक २ मिनेटमा १ जनामा पत्ता लाग्ने गरेको छ ।
– यो क्यान्सर महिलामा बढी देखिने भए पनि पुरुषमा पनि हुनसक्छ ।
– ४० वर्षभन्दा बढी उमेरका महिलामा म्यामोग्राफी भन्ने जाँच गर्ने हो भने यो क्यान्सरका कारण मृत्यु हुने जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ ।
– यो क्यान्सरलाई समयमै पत्ता लगाउन सकियो भने यसबाट हुने मृत्युको जोखिमलाई ४० प्रतिशत घटाउन सकिन्छ ।
– यो क्यान्सर हुने ७५ प्रतिशतमा न त कुनै वंशानुगत गुण हुन्छ न त अन्य जोखिम नै हुन्छ ।
– यो क्यान्सर छिटो पत्ता लगाउन सकियो भने बाँच्ने सम्भावना ९८ प्रतिशतसम्म हुन्छ तर ढिलो भएमा २७ प्रतिशततिर झरेर जान्छ ।
– ७० प्रतिशत स्तन क्यान्सर ढिलो गरी मात्र पहिचान हुन्छ ।
– ६० प्रतिशत महिलाहरु डिप्रेसनको शिकार भएको पाइन्छ ।
– करिब ६७ प्रतिशत उपचारमा स्तन र काखीमा रहेका लसिका ग्रन्थीलाई निकालेर फालिन्छ ।
– प्यालिएटिभ हेरचाह गर्ने संस्था र प्रविधि कम छ ।
– ४०÷४९ वर्षको उमेर समूहमा यो बढी देखिएको छ ।
– फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर प्रमुख क्यान्सरको रुपमा देखिन्छ ।
– प्रतिवर्ष करिब २ सय जनाको स्तन क्यान्सरको पहिचान हुने गर्छ । यो प्रत्यक वर्ष ५ प्रतिशतले बढिरहेको छ । तर समुदायमा कैयौं बिरामी पहिचान नभई बसेका छन् ।
स्तन क्यान्सरको लक्षण र चिह्नहरु केके हुन सक्छन् ?
– स्तन वा काखीमा दुखाइ दीर्घ रुपमा भइरहेमा,
– स्तनको छालामा परिवर्तन देखिएमा,
– स्तनको आकार र बनावटमा परिवर्तन आएमा,
– स्तनको मुन्टोबाट ननिचोरी तरल पदार्थ आएमा,
– स्तनको मुन्टो भित्रतर्फ गडेमा, यसको आकार र स्थानमा परिवर्तन भएमा,
– स्तनमा गाँठो अनुभव भएमा,
– स्तनको मुन्टो वरिपरिको छाला रातो देखिएमा,
– काखीमा वा घाँटीको छेउछाउ लासिका ग्रन्थी बढेमा,

स्तन क्यान्सरको जोखिम कसलाई बढी छ ?
– ढिलो सन्तान जन्माउनेहरु,
– कम उमेरमै महिनावारी सुरु हुने (१२ वर्ष पहिले) र ढिलो उमेरमा महिनावारी सुक्ने (५५ वर्षपछि),
– पहिले सन्तान ढिलो जन्माउने (३० वर्षपछि),
– स्तनपान कम गराउने,
– बढी चिल्लो बोसोयुक्त खाना खाने,
– चुरोट र अत्यधिक रक्सी सेवन गर्ने
– विकिरणको नजिक रहने,
स्तन क्यान्सर सुरुमै पहिचान कसरी गर्ने ?
– स्वयं स्तन जाँच विधि,
– क्लिनिकल जाँच विधि,
– म्यामोग्राफी जाँच,
– हाई रेजोलुसन भिडियो एक्स–रे,
– अटोमेटेड होल ब्रेस्ट भिडियो एक्स–रे,
– एमआरआई,

स्तन क्यान्सर रोकथामका लागि के गर्ने ?
– स्वास्थ्य चेतानामूलक कार्यक्रम
– स्तन क्यान्सर स्क्रिनिङ कार्यक्रम (विश्व स्वास्थ संगठनका अनुसार)
२०-३९ वर्ष ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक ३ वर्षमा स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि ।
४०-४९ वर्ष ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि, ४० वर्षमा म्यामोग्राफी जाच र त्यसपछि प्रत्येक २/२ वर्षमा म्यामोग्राफी जाँच ।
५० वर्ष र माथिको उमेर ः प्रत्येक महिना स्वयं स्तन जाँच विधि र प्रत्येक वर्ष स्वास्थकर्मीबाट क्लिनिकल जाँच विधि र प्रत्येक वर्ष म्यामोग्राफी जाँच ।

समयमै स्तन क्यान्सर पत्ता लगाउन के गर्ने ?
– सबैले स्तन क्यान्सरबारे चेतना बढाउने काम सुरु गरौं र
– सबैले आफ्नो स्तन आफैं जाँच्ने विधि सुरु गरौं ।

                                                                                                         डा. सूर्य पराजुलीको स्वास्थ्य खबर पत्रिकामा प्रकाशित लेखबाट साभार

स्वास्थ्य फार्मेसीले युटुबमा राखेको भिडियो जनचेतनाको लागि साभार
Leave A Reply

Your email address will not be published.