यो विज्ञानको युग हो । नयाँ पुस्ताले जहाँ पनि विज्ञान खोज्छ । तर, पुरानो पुस्ताले हाम्रो संस्कार संस्कृतिमा भएको विज्ञानलाई व्याख्या गर्न सकेका छैनन् । पहिला परिवारमा तीन पुस्ता (बाजेबज्यै, बा–आमा, नाति–नातिना) एउटै घरमा बस्थे । अहिले तीन पुस्ता एउटै घरमा बस्दैनन् । तीन पुस्ता तीनतिर भए ।
पहिला बुढाबाजेहरू ढोकाछेउको भित्तामा लौरो राखेर चौकिदारजस्तो भई बस्थे । अनि बज्यैहरू पिँढीमा बसेर केटोकटीलाई स्याहारसुसार गर्दै बस्थिन् । साना केटाकेटीहरू पिँढी, आँगनतिर खेल्थे । यसरी तीन पुस्ता सँगै हुन्थे । तर, अहिले बाजेबज्यै गाउँमा बस्छन्, बाआमा सहरमा बस्छन् र नाति–नातिनीहरू होस्टेलमा बस्छन् । तीन पुस्ताको भेट मुस्किलले मात्रै हुन्छ । यसरी पछिल्लो पुस्तामा दक्षता, ज्ञान, संस्कृतिको हस्तान्तरण हुन सकेको छैन । हाम्रो गाउँको पारिवारिक संगठन अहिले कचमचिएको छ । थोरै मात्रै परिवारका तीन–चार पुस्ता एउटै घरमा बस्न पाएका छन् ।
तितेपाती के हो भन्नेबारे आजका केटाकेटीलाई थाहा छैन । सहरबजारका केटाकेटीले दूध त खान्छन्, तर गाईभैँसी देखेका हुँदैनन् । गाईभैँसी कसरी दुहुने थाहा छैन । ठेकी–मदानीमा मोही पारेको देख्दैनन् । कहिलेकाहीँ घुम्न गएजस्तै केटाकेटी गाउँमा जान्छन् । अझ कोही त गाउँमै जाँदैनन् । हाम्रा खानपिन, लवाइखवाइ, चाडपर्व, बसाइको ढाँचा, खेतीपाती सबै बिग्रिएको छ । तर, यस्ता संस्कारमा विज्ञान छ भनेर हामीले व्याख्या गर्न सकेनौँ । गाउँमा उत्पादन भएको खानेकुरा खादैनौँ । विष खाएको छ कि खान्की खाएको छ, थाहा छैन । आरारविहार बिग्रिएपछि मनस्थिति पनि बिग्रिन्छ । लवाइखवाइमा, गाउँको बस्ती बसाइमा, घरको निर्माणमा यो विज्ञान छ है भनेर पुरानो पुस्ताले नयाँ पुस्तालाई व्याख्या गर्न सक्नुपर्छ ।
अहिलेका युवापुस्ता आफ्नो समाजतिर थोरै फर्किन लागेका छन् । युवा पुस्ता आफ्नोपनमा फर्कन लाग्नु राम्रो हो । नेवार समुदायका युवा–युवती आफ्नो संस्कार संस्कृतिप्रति धेरै जागरुक भइसके । गुरुङ, मगर, राई, लिम्बू र थारू युवा–युवतीमा पनि आफ्नोपन जागेको छ । तर, बाहुनक्षेत्री, युवा–युवतीमा आफ्नोपना के हो भन्नेबारे अझै संगठित बुझाइ हुन सकेको देखिन्न ।
संस्कृति पुस्तान्तरण हस्तान्तरण हुन सकेन । तीन पुस्ता (बाजेबज्यै, बाआमा, छोराछोरी) तीनतिर भए ।
पुस–माघतिर काठमाडौंको जाडोमा कुनै पार्टी वा भोजभतेरमा महिलाहरू शरीर नछोप्ने पहिरन लगाउँछन् । अब उनीहरूलाई लहरेखोकी नलागेर कसलाई लाग्छ ? उहिले महिलाको गोलीगाँठा फरियाले छोप्नुपर्छ भन्थे । लाम्बाहुले चोलो लगाउने, ऊनको पटुका बाँध्ने हुँदा तिनलाई ब्रोन्काइटिस पनि हुन्न, थाइराइड पनि हुन्न । तर, अहिले त्यस्तो अवस्था छैन ।
अहिले सहरिया खानपानले गर्दा जडीबुटीले कामै गर्न छाड्यो । किनभने मानिसले बिखै मात्रै खाएको छ । पहिले–पहिले केटाकेटीको पेट दुख्यो भने पानीमा खरानी फिटेर दिने गरिन्थ्यो । जुकाको औषधी पनि त्यही थियो । अहिले रोगको मात्रा बढी छ, गाउँघरका जडीबुटीले काम गर्न छाडे । कोरोना महामारी अहिले विश्वमा फैलियो । मध्यकालमा मल्ल राजाको पालामा पनि यहाँ महामारी फैलिएको थियो । त्यतिवेला ६–सात सय मानिस मरे भनिन्छ । त्यतिवेला राजा आफैँ मरे ।
तर, त्यतिवेला काँठका मानिस थोरै मरे । सहरका मानिस धेरै मरे । अब सहरका मानिस किन धेरै मरे र काँठका मानिस किन कम मरे त ? सहरमा त राम्ररी घाम लाग्दैन । स्वस्थ हावा पानी छैन । इनारको पानी खानुपर्छ । त्यसैले सहरका मानिस धेरै मरे । गाउँमा तितेपातीलगायत जडीबुटीको बास्ना चाहे पनि नचाहे पनि बाटो हिँड्दा सुँघ्नैपर्छ । आँगनको डिलमा बस्दा पनि सुँघेकै छ । त्यस्तो बास्नाले शरीरलाई बलियो बनायो । लाकुरी भनेको अग्लो शीतल वृक्ष हो ।
गाउँघरतिर हलो चिलाउनेको बनाउने, जुवा लाकुरीको बनाउने, हरिस मुसुरे कटुसको बनाउने चलन थियो । एक ठाउँमा ठूलो लाकुरीको बोट छ भने त्यसले वरपरको भागलाई शीतल बनाउँछ भन्ने मान्यता छ । लाकुरीमा के गुण छ, त्यो आयुर्वेदले थाहा पाउनुपर्यो। अहिले त्यो कुरा हरायो ।
दक्षिण फर्किएका गाउँ
अहिलेको वास्तुले दक्षिणतिर ढोका राख्नुहुँदैन भन्छ । तर, देश र ठाउँअनुसारको वास्तु हुनुपर्छ । नेपालका सबै गाउँ दक्षिणतिर फर्किएका छन् । सबैको ढोका दक्षिणतिर फर्किएको छ । त्यही कारणले पनि नेपालका गाउँमा उदाएदेखि अस्ताउँदासम्म घाम लाग्छ । उत्तरतिर फर्किएको गाउँ सेपिलो हुन्छ । दक्षिणबाट उत्तर फर्किएको घरमा घामै लाग्दैन । उत्तरबाट दक्षिण फर्किएका मधेसका घरमा बढी गर्मी हुन्छ । दक्षिणबाट उत्तरतिर फर्किएको घर शीतल हुन्छ । त्यसकारण ठाउँ हेरेर वास्तुको कुरा हुन्छ ।
उहिलेका मानिसको धन भनेको पशु र अन्न थियो । तर, अहिले यसमा धेरैको रुचि नै जान छाड्यो । पहिले मानिस जागिर खान मन पराउँदैनथे । खेतीपातीमा बल गर्थे । अहिले खेतीमा बल गर्ने मान्छेलाई ‘निम्छरो’ पो मानिन्छ । अहिले किसानको हात र उपभोक्ताको मुखको बीचमा बिचौलिया रमाएको छ ।
अहिले अरब खुल्यो, साउदी खुल्यो, मलेसिया खुल्यो । विश्वप्यापीकरण बढ्यो । पहिले इन्डियामा नेपाली भर्ती हुन्थे । अहिले फ्रेन्च सेना, अमेरिकी सेनामा पनि नेपालीले जागिर खाएका छन् । विदेशको धनले नेपालको आर्थिक वृद्धिदर बढेको छ । तर, गाउँ निरीह अवस्थामा छ । पैसा कमाएको मान्छे गाउँ फर्किंदैन । गाउँमा जग्गा किन्दैन, घर पनि बनाउँदैन । बजारमा घरजग्गा किनेर बस्छ । अहिले गाउँमा खेतबारी सबै बाझो छ । हाम्रो बसाइ र रहनसहनको सन्तुलन नै मिलेको छैन । बसाइको सन्तुलन मिल्यो भने मात्रै आर्थिक सन्तुलन मिल्छ । पहिले खेती हाम्रो पहिचान थियो । तर, अहिले हामी परनिर्भर भयौँ ।
अहिले बाजेबज्यै गाउँमा बस्छन्, बाआमा सहरमा बस्छन् र नाति–नातिनीहरू होस्टेलमा बस्छन् । तीन पुस्ताको भेट मुस्किलले मात्रै हुन्छ । यसरी पछिल्लो पुस्तामा दक्षता, ज्ञान, संस्कृतिको हस्तान्तरण हुन सकेको छैन ।
अब खेतीपाती गर्न र त्यसलाई बचाउन गाउँमुखी नीति बनाउनुपर्छ । अहिले चिराइतो खेती सुरु भएको छ । अलैँची खेती फस्टाएको छ । यसबाट पनि धेरैले धन कमाएका छन् । पूर्वको चिराइतो खेती पश्चिमकालाई थाहा छैन । पहिले यार्चागुम्बा भेडाले खान्थ्यो । पछि मात्रै बहुमूल्य जडीबुटी रहेछ भन्ने मान्छेले थाहा पाए ।
प्रकृतिको तीन उपचार
नेपाललाई प्रकृतिको तीनवटा उपहार छ–शालिग्राम, रुद्राक्ष र बोधिचित्त । बोधिचित्त उहिले काभ्रेको तिमालमा मात्रै पाइन्छ भन्थे, अहिले जताततै नर्सरी पाइन्छ । तिमालका तामाङले बोधिचित्तबाट करोडौं कमाए । रुद्राक्षभन्दा बोधिचित्तले धेरै भाउ पाएको छ । एकजनाले तीन करोडसम्म कमाएको मैले थाहा पाएको छु । संखुवासभाको दिङ्ला जाँदा एकजनाले एक्काइसमुखे रुद्राक्ष फेला पार्यो रे ! उसले भारतमा लगेर ४१ हजारमा बेच्यो रे ! अहिले भोजपुर र संखुवासभामा मंसिर लागेपछि चिनियाँ युवायुवती रुद्राक्ष किन्न आउँछन् ।
हामीले रुद्राक्ष बुझेका छैनौँ । तर चाइनिजहरूले बुझे । अहिले पनि तुम्लिङटार जाने जहाजमा अधिकांश चिनियाँ युवायुवती हुन्छन् । उनीहरू त्यहाँबाट संखुवासभा र भोजपुर जान्छन् । कसको घरमा कति रुद्राक्ष छ, उनीहरूलाई थाहा छ । उनीहरूले रुद्राक्षमा हाल्ने मलसमेत बनाएका छन् । त्यो मल किसानलाई ल्याएर दिन्छन् र रुद्राक्ष फल्दाबित्तिकै बोटै किन्छन् । यसरी विदेशीले हाम्रो रुद्राक्षबाट करोडौँ कमाएका छन् । तर, हामीले थाहा पाएनौँ ।
अहिले तुलसीको खेती गर्ने बढेको छ । तुलसी चियाको अहिले माग बढेको छ । सुगर, प्रेसर हुनेले जडीबुटीको रूपमा यसको प्रयोग गरेको पाइन्छ । कोरोनापछि गुर्जोको कुरा आयो । यस्ता वनस्पतिबारे हामीले अध्ययन नै गरेनौँ ।जुम्लामा सबैभन्दा धेरै शिलाजित पाइन्छ । यहाँबाट भारतमा निर्यात हुन्छ । नेपालको सूर्यतापी शिलाजित विदेशमा प्रख्यात छ । त्यसले सुगर, प्रेसर नियन्त्रण गर्छ । स्मरण शक्ति बढाउँछ । नसालाई सक्रिय बनाउँछ । चौलानीपानीसँग शिलाजित खाएमा यसले महिनावारी गडबडी ठिक पार्छ । तर, वैद्यखानाले शिलाजितको माग पूरा गर्न सकिरहेको छैन । अहिले यो निकै महँगो छ ।
विदेशमा नेपाललाई चिनाउने सिंहदरबार वैद्यखानाको सूर्यतापी शिलाजित पनि एक हो । सम्भावना भएर पनि राज्यले उचित नीति बनाएर सम्बोधन गर्न सकेको छैन । यसबारे नेपालका पूर्वतिरका मानिस अलि टाठा हुने रहेछन् । अहिले लोठसल्लोको खेती पनि बढेको छ । यसले क्यान्सर निको बनाउँछ भनिन्छ । त्यसका पातहरू भारतमा निर्यात भइरहेका छन् । पहिलेका मानिसले यसको महत्व थाहा पाएका रहेछन् । जस्तो गुरुङको ढ्याङ्ग्रोको घेरो लोठसल्लोले बनाएको हुन्छ । छाला घोरलको हाल्छन् र तना बेदको बनाउँछन् । त्यसलाई पहिले ‘साउन्ड थेरापी’को रूपमा प्रयोग गरिन्थ्यो । हाम्रा पुस्तालाई लोठसल्लोमा केही तत्व रहेछ भन्ने त थाहा रहेछ, तर त्यो थाहा पाउनेहरू बिलाएर गए । दोस्रो पुस्ताले थाहै पाएनन् । अहिले पो हामी झल्यास्स ब्युँझियौँ । सरकारी नीतिले पनि हाम्रा यस्ता परम्परागत औजार र रहस्यहरूलाई सम्बोधन गर्न सकेको छैन ।
(नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गुरुङसँग शिवहरि घिमिरेले गरेको कुराकानीमा आधारित)
नयाँ पत्रिकाको झन नयाँबाट साभार गरिएको हो ।