घण्टेश्वर अनलाईन
जोरायल, डोटी
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देबराज जोशीले जोरायलको बिकासको लागि प्रदेश तथा सँघ सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ ।
सुदूरपश्चिम बहुउद्देश्यीय मञ्च तथा सुदूरचिनारी डोटेली पत्रिका, कैलालीद्वारा मँगलबार जोरायलको रावतकट्टेमा आयोजना गरिएको ‘जोरायल दर्पण’ लोकार्पण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख जोशीले भौगोलिक रुपमा सुन्दर जोरायलको बिकासको लागि योजनाबद्ध रुपमा काम गर्नु पर्ने आबश्यकता रहेको बताउनु भयो ।
जोरायलको बिकासको लागि गुणस्तरीय सडक पूर्बाधार निर्माण गर्नुपर्ने कुरामा जोड दिदै प्रदेश प्रमुख जोशीले बुडर जोरायल सडकको स्तरोन्नतीको काममा तिब्रता दिन आफुले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
यसै गरि कार्यक्रमका बिशिष्ट अतिथी सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले जोरायल क्षेत्रले सुदूरपश्चिमको भाषा, कला तथा सँस्कृतिको सँरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान दिएको धारणा ब्यक्त गर्नु भयो ।
सुदूरपश्चिमको भाषा, कला तथा सँस्कृतिको सँरक्षण तथा सम्बद्र्धनमा सबै क्षेत्रको सहयोग आबश्यकता रहेको चर्चा गर्दै उपकुलपति जोशीले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको तर्फबाट जोरायलमा बृहत साहित्यिक कार्यक्रम आयोजना गरिने बताउनु भयो ।
जोरायलका अग्रज साहित्यकार तथा सुदूरचिनारी डोटेली पत्रिकाका सम्पादक निर्मलकुमार भण्डारीको अध्यक्षता तथा सुदूरपश्चिम बहुउद्देश्यीय मञ्चका पूर्व अध्यक्ष एवम् सुदूर चिनारी द्वैमासिक पत्रिकाका प्रकाशक÷सम्पादक एन.के. जोशीको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा पूर्ब साँसद यज्ञराज पाठक, जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, लोक गायक राजाराम भाट, सुदूर चिनारी पत्रिकाका प्रकाशक एनके जोशी, देवराज भट्ट,डिल्लीराज भट्ट लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
उक्त अवसरमा सुदूरपश्चिम बहुउद्देश्यीय मञ्चले विगत ९ वर्षदेखि वितरण गर्दै आएको परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार यसवर्ष २०७९ मा सुदूरपश्चिम प्रदेशका डेउडा गायक राजाराम भाटलाई र हेममल्ल स्मृति आम सञ्चार पुरस्कार–२०७९ सु.प.क्षेत्रका वरिष्ठ साहित्यकार खगराज पाठकलाई प्रदान गरिएको थियो ।
यसैगरि डण्डीराज भागिरथी समाजसेवा पुरस्कार–२०७९ जोरायल स्थित श्री घण्टेश्वर मा. वि.का प्रधानाध्यापक सुनलाल थापालाई, डण्डीराज भागिरथी आदर्श सम्मान डोटीका पूर्व सांसद यज्ञराज पाठकलाई प्रदान गरिएको सुदूरपश्चिम बहुउद्देश्यीय मञ्चले जनाएको छ । पुरुस्कृत तथा सम्मानित हुने ब्यक्तिहरुलाई रू. ११,१११/-(अक्षेरेपि. एघार हजार एक सय एघार) नगद धनराशी, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
यस्तै सोही अवसरमा जोरायल क्षेत्रका बिभिन्न ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, स्थानीय समाजसेवीहरु कमलसिंह कठायत, सर्वजित साउँद, कर्णबहादुर मल्ल, बमबहादुर मल्ल, हेमा कपड्याल तथा ड्यौडा गीतकार शोभानसिंह बोहरा, आधुनिक एवम् नमूना तरकारी कृषक खडकबहादुर मल्ल, स्थानीय भोस्सो गीत संरक्षक रतन सार्की, उत्कृष्ट फलफूल बेर्ना व्यवसायी बमबहादुर साउँद, घरेलु जडिबुटी एवम् आयुर्वेद शास्त्रका जानकार व्यक्तित्व रनबहादुर खत्री (अधिकारी) रहेका छन ।
बिगत १२ बर्षदेखि सुदूरपश्चिमको भाषा सँस्कृतिको सँरक्षण तथा सम्बद्र्धनका लागि प्रकाशित हुँदै आएको डोटेली द्वैमासिक पत्रिका सुदूरचिनारीले यस पटक जोरायल गाउँ पालिका बिशेष अँकका रुपमा प्रकाशित गरेको थियो । उक्त पत्रिकामा जोरायल गाउँपालिका क्षेत्रको समग्र अवस्थासँग सम्बन्धित विषयबस्तुहरु समाबेश गरिएको पत्रिकाका सम्पादक निर्मलकुमार भण्डारीले बताउनु भयो ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए ।