डोटीको जोरायलमा आजबाट “जोरायल महोत्सब” शुरु
कलाकार भुवन दाहलको उपचारको जिम्मा जोरायल गाउँपालिकाले लिने

कबिराम डाँगी
जोरायल
डोटीको जोरायल स्थित युनिक युथ स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको “जोरायल महोत्सब” आजबाट शुरु भएको छ । जोरायल गाउँ पालिका वडा नं. ३ रावतकट्टे स्थित रत्न आधारभूत बिद्यालयको प्राङ्गणमा शुरु भएको महोत्सबको जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले एक समारोहका बिच उद्घाटन गर्नु भयो ।
युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवनकुमार शाहुको अध्यक्षतामा भएको उक्त महोत्सबको उद्घाटन गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हरेक क्षेत्रमा सुन्दर जोरायललाई समृद्ध बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
जोरायल हरेक क्षेत्रमा सुन्दर भएपनि ब्यवस्थित रुपमा प्रचार प्रसार हुन नसकेको बताउदै अध्यक्ष ओझाले जोरायललाई स्वस्थ, शिक्षित र समृद्ध जोरायल बनाउनु पर्ने खाँचो औल्याउनु भयो ।
स्थानीय सँस्कृति, कृषि तथा पर्यटनको प्रबद्र्धन गर्नको लागि जोरायल महोत्सबको महत्वपूर्ण भूमिका हुने बताउदै आगामी बर्ष पनि जोरायल महोत्सबलाई थप व्यवस्थित र तयारीका साथ गर्नु पर्ने र त्यस्ता रचनात्मक कामको लागि जोरायल गाउँ पालिका सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथी जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमूना बोहराले जोरायल बिबिध जातजाती र भाषाभाषिको समाबेशी क्षेत्र भएकाले जोरायलको विविधतालाई प्रचार प्रसार गर्न आबश्यक रहेको बिचार व्यक्त गर्नु भयो ।
जोरायल कृषि उपजको लागि जिल्लाकै उत्कृष्ट क्षेत्र हो । जोरायलका रहेको सँस्कृति, ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको वारेमा प्रचार प्रसार गर्न सके जोरायलमा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्र्याउन सकिने उपाध्यक्ष बाोहराको धारणा थियो ।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष नबिन ओझा, वडा नं. ४ का वडाध्यक्ष नन्दराज भट्ट, पूर्ब कार्यपालिका सदस्य केशव नेपाली लगायतका बक्ताहरुले बोल्नु भएको थियो । महोत्सब २०८० बैशाख २ गते सम्म चल्ने आयोजकले जानकारी दिएका छन ।
कलाकार भुवन दाहालको स्वास्थ्य उपचारको जिम्मा जोरायल गाउँ पालिकाले लिने
लामो समय देखि अस्वस्थ रहेका सुदूरपश्चिमका चर्चित डेउडा गायक कलाकार भुवनप्रसाद दाहालको स्वास्थ्य उपचारको जिम्मा जोरायल गाउँ पालिकाले लिने भएको छ ।
आजबाट शुरु भएको जोरायल महोत्सबको उद्घाटनका क्रममा जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उक्त घोषणा गरेका हुन ।
कलाकार राष्ट्रका गहना हुन । कलाकारहरुको सँरक्षण गर्नु हरेक सरकारको दायित्व पनि हो । कलाकार दाहाल आर्थिक अवस्थाका कारण पूर्ण रुपमा उपचार गराउन नसकेको समाचार आएको छ । कलकार दाहाल पूर्ण रुपमा स्वस्थ हुनु पर्दछ । उहाँको स्वास्थ्य उपचारको लागि लाग्ने सम्पूर्ण खर्चको जोरायल गाउँ पालिकाले व्यहोर्छ, अध्यक्ष ओझाले उद्घाटनका क्रममा बताउनु भयो ।
महोत्सबका आकर्षणहरु
जोरायल महोत्सबमा मुख्यगरि स्थानीय कला सँस्कृतिलाई जोड दिईएको छ । महोत्सबमा स्थानीय पैंसेरी नाच, डेउडा खेल, बिभिन्न बिद्यालयका साँस्कृतिक कार्यक्रमहरु रहेका छन । महोत्सबमा स्थानीय कलाकारका अतिरिक्त शोभा त्रिपाठी, भुवन दाहाल, झरना बोहरा, टँक तिमिल्सिना, चक्र बम, पुस्कल शर्मा, गौरी भट्ट, सौगात ओझा, लालबहादुर धामी, झलक पाली, चन्द्रदेब ओझा, बिक्रम थापा, अम्बिका राई, निर्मल खत्री, कुलेन्द्र परियार, सोहन ओझा लगायत बिभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने क्लबले जनाएको छ ।
स्थानीय कृषि उपज, स्थानीय घरेलु उत्पादन, स्थानीय व्यापार व्यवसायको प्रबद्र्धन गर्ने मुख्य रहेको आयोजक सँस्था युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवनकुमार शाहुले जानकारी दिनु भयो ।
महोत्सबको मुख्य कृषि प्रबद्र्धकमा वडा नं. १ स्थित जैविक विविधता कृषि सहकारी सँस्था लिमिटेड रहेको छ । लि बर्डको सहयोगमा सहकारीले महोत्सबमा कृषि वालीको प्रदर्शनी, लोपोन्मुख वालीको खाद्य परिकारहरु प्रदर्शनी पनि मुख्य आकर्षणको रुपमा रहेको छ ।
उद्घाटन कार्यक्रममा फापरको लड्डु, कोदाको परौठा र सेलरोटी,, जौंको डुनट, चामलको निसौसे, फुलखाजा, खिर, गतानी डुब्का, सिस्नुको साग लगायतका स्थानीय खाद्य परिकारको प्रदर्शनी गरिनुका साथै सहभागि सबैलाई स्वाद चखाईएको थियो ।
महोत्सब अबधिभर सहकारीले बिऊ बैंकमा सँरक्षण गरेर राखेका लोपोन्मुख वालीका बिऊहरु, किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी जारी रहने बताईएको छ ।