
घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
सुदूरपश्चिमेलीहरुको प्रमुख चाड गौरा पर्ब टेक्सासको अस्टिन र ड्यालसमा उल्लासपूर्बक मनाईने भएको छ । गौरा बिशेष कार्यक्रममा सहभागि हुन सुदूरपश्चिमेली समुदायका साथै ईच्छुक नेपाली समुदायलाई सहभागिताको लागि सुदूरपश्चिम नेपाली समाज टेक्सासले अनुरोध गरेको छ ।
सुदूरपश्चिम नेपाली समाज टेक्सास अध्यक्ष नवराजनाथ योगीका अनुसार यस बर्षको गौरा पर्ब सबैलाई अनुकुल हुने गरि अस्टिनमा सेप्टेम्बर २ तारेखमा र ड्यालस फोर्टवर्थ क्षेत्रमा सेप्टेम्बर १० तारेखमा मनाउने निर्णय भएको छ । गौरा पर्बका अवसरमा गौरा देबीको बिशेष पूजाआजा, गौरा खेल, डेउडा लगायत बिबिध साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रममा सहभागिताका लागि अस्टिन तथा ड्यालस फोर्टवर्थ क्षेत्रका सुदूरपश्चिमेली तथा नेपाली समुदायलाई सार्बजनिक रुपमा आमन्त्रण गरिएको सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।
ड्यालस फोर्टवर्थ क्षेत्रमा गौरा पर्ब कार्यक्रम सेप्टेम्बर १० तारेखका दिन युलेश स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा र अस्टिन क्षेत्रमा आयोजना हुने गौरा पर्ब स्थानीय ग्रेटर अस्टिन नेपाली समाजको सामुदायिक भवनमा बिबिध कार्यक्रमका साथ मनाईने कार्यक्रम रहेको छ ।
गौरा पर्ब सुदूरपश्चिमको बिशेष साँस्कृतिक चाड भएकाले पनि गौरा पर्बको वारेमा जान्न धेरै नेपाली समुदायलाई रुचि छ । टेक्सासको अस्टिन र ड्यालस फोर्टवर्थ क्षेत्रमा आयोजना गरिने कार्यक्रममा सुदूरपश्चिमेलीका साथै ईच्छुक नेपाली समुदायलाई सार्बजनिक सूचना मार्फत चुले निम्तो दिएका छौं । यसबाट गौरा पर्बको प्रचार प्रसार हुने र गौरा पर्बको वारेमा जान्न ईच्छुकलाई पनि जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष नवराज नाथ योगीले बताउनु भयो ।