घण्टेश्वर अनलाईन
युलेश, टेक्सास
अमेरिका भ्रमणमा रहनु भएका नेपाल पत्रकार महासंघका पूर्ब महासचिब ओम शर्माले भौतिक रुपमा जहाँ भएपनि मातृभूमिसँगको निकटता कायमै राख्न नेपाली समुदायसँग आग्रह गर्नु भएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज युलेश स्थित गोर्खा वार एण्ड ग्रिलमा आयोजना गरिएको स्वागत तथा अन्तरकृया कार्यक्रममा बोल्दै शर्माले बिभिन्न कारणले नेपाली समुदाय प्रवासमा हुनु हुन्छ । प्रवासी नेपालीहरुले आफुले आर्जन गरेको ज्ञान सीप र अनुभवलाई नेपाल र नेपालीको हितमा उपयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बावुराम दाहालको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ पत्रकार शर्माले नेपाली पत्रकारिताको पछिल्लो अवस्थाको वारेमा जानकारी गराउँदै प्रवासमा नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारहरुले सामुदायिक पत्रकारिताको माध्यमबाट प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्न सहयोग गर्नु पर्ने बताउनु भयो ।
तपाईहरुलाई सामान्य लाग्न सक्छ तर प्रवासमा नेपाली समुदायका सँघर्ष/सफलताका कथाहरु, अमेरिकी सरकार र तल्ला निकायले आफ्ना नागरिकका लागि प्रदान गर्ने सेवा सुबिधा, सहुलियतहरुको जानकारी, असल अभ्यासहरु समेटेर प्रकाशन गरिने सामग्रीहरु नेपाल र नेपालीको लागि उपयोगी हुने शर्माको धारणा थियो ।
एक प्रसँगमा बोल्दै शर्माले नेपालमा पछिल्लो समयमा केही सकारात्मक प्रयास शुरु भएको बताउदै प्रवासबाट नेपाल र नेपालको व्यवस्था प्रति निराशा फैैलाउने काम नगर्न आग्रह गर्नु भयो ।
उक्त अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले अमेरिका भ्रमणमा रहनु भएका नेपाल पत्रकार महासँघका पूर्ब महासचिब ओम शर्मालाई नेजाको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नेजाका पूर्ब अध्यक्ष बिकासराज न्यौपाने, पुराना पत्रकार शैलेश आचार्य, सामाजिक अभियन्ता देबी आचार्य, बिमल पछाई, दिक खरेल, तिलक केसी, नारायण कँडेलले पनि बोल्नु भएको थियो । कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका पत्रकारहरु, सामाजिक संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।