घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अहिले चाड पर्बको मौसम शुरु भएको छ । प्रवासीहरुलाई सबै भन्दा बढी के कुराको अभाव महसुस हुन्छ भनेर सोधेमा सबैले दिने जवाफ घर परिवार, छरछिमेक र चाडपर्ब नै हो । तर अचेल प्रवासीहरुलाई बिगतको जस्तो नमिठो अनुभव बिस्तारै कम हुन थालेको छ । सूचना प्रबिधिको प्रयोगले सबैलाई नजिक जोडिदिएको छ भने प्रवासमा पनि नेपालीहरु संगठिन हुने, सामुहिक रुपमा चाड पर्ब मनाउने, रमाईलो गर्ने गरिरहेका छन ।
नेपाली समुदायको बाक्लो बसोवास रहेको टेक्सासका बिभिन्न क्षेत्रमा अहिले दैनिक जसो एकै स्थानमा जम्मा भएर तिज गीतमा नाचगान गर्ने, सामुहिक दरखाने कार्यक्रम शुरु भईसकेको छ । टेक्सासका अस्टिन र ड्यालस क्षेत्रमा रहेका सुदूरपश्चिमेलीहरुले पनि सामुहिक रुपमा गौरा पर्ब मनाउने तयारी गरिरहेका छन । टेक्सासका नेपाली समुदायमा तिज तथा गौरा पर्बको रौनक शुरु भएको छ ।
बिगतमा चाडपर्ब आउने बित्तिक्कै न्यास्रो लाग्थ्यो । पछिल्ला दिनहरुमा तिज लगायत नेपाली चाडपर्बहरुमा सामुहिक रुपमा पूजाआजा गर्ने, रमाईलो गर्ने, खानपिन गर्ने परम्परा शुरु भएपछि नेपालको झल्को मेटिन थालेको टेक्सास मिकिनीकी गिता अधिकारीले अनुभव सुनाईन ।
टेक्सासका बिभिन्न स्थानमा ६ दर्जन बढी नेपाली समुदायका सँस्थाहरु कृयाशिल रहेका छन । नेपाली समुदायका सँस्थाहरुले सामुहिक तथा छुट्टा छुट्टै रुपमा आयोजना गरिने तिज, दरखाने कार्यक्रम तथा गौरा पर्ब सम्बन्धि ब्यानरहरु सामाजिक सन्जालमा पोष्ट गरिरहेका छन ।
ड्यालस फोर्टवर्थमा रहेका अधिकाँश नेपाली समुदायले तिज तथा गौरा पर्ब मनाउन युलेश स्थित पशुपति नाथ मन्दिरलाई रोजेका छन । भने कतिपय सँस्थाहरुले बिभिन्न सिटीमा रहेका नेपाली तथा हिन्दु मन्दिर तथा स्थानीय होटेल रेष्टरेन्टका हलहरुमा तिज मनाउने भएका छन ।
अमेरिकामा रहेका नेपाली समुदायमा बिगतका बर्षभन्दा सामुहिक रुपमा नेपाली चाडपर्बहरु मनाउने क्रम शुरु भएको छ । नेपाली समुदायहरु भैतिक रुपमा जहाँ भएपनि नेपाली भाषा, सँस्कृति, चाडपर्बहरुले एकताबद्ध बनाएको फोटवर्थका कुलदिप बिसीले बताउनु भयो ।
नेपाली समाज टेक्सास र ईन्द्रेणी साँस्कृतिक संघको सँयुक्त आयोजनामा सेप्टेम्बर ९ तारेखमा बृहत तिज कार्यक्रम आयोजना गर्न लागिएको नेपाली समाज टेक्सास महिला बिभाग प्रमुख गुन्जन भण्डारीले बताउनु भयो ।
लुम्बिनी सेवा समाज अमेरिकाले पनि सेप्टेम्बर १० तारेखका दिन अर्भिङमा सामुहिक तिज कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएको छ । सुदूरपश्चिम नेपाली समाज टेक्सासको आयोजनामा सेप्टेम्बर ९ मा अस्टिनमा र सेप्टेम्बर १० मा ड्यालस स्थित युलेश स्थित पशुपतिनाथ मन्दिरमा गौरा पर्ब मनाउने कार्यक्रम रहेको अध्यक्ष नवराज नाथ योगीले जानकारी दिनु भयो ।