टेक्सासको अस्टिनमा सुदूरपश्चिमेलीको गौरा पर्ब मेला 

घण्टेश्वर अनलाईन

अस्टिन, अमेरिका

टेक्सास राज्यको अस्टिन आसपासका क्षेत्रमा बसोवास गर्ने सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरापर्ब धुमधामका साथ मनाएका छन ।

सुदूरपश्चिम नेपाली समाज टेक्सासद्वारा आईतबार टेक्सासको अस्टिनमा आयोजना गरिएको गौरा पर्ब कार्यक्रममा सुदूरपश्चिमेलीहरुले एकै ठाउँमा जम्मा भएर गौरा खेल्नुका साथै धित मरिन्जेल डेउडा खेलेका थिए । गौरा पर्ब मेला कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकार शँकरसिंह बिष्टले बिभिन्न डेउडा गीत प्रस्तुत गरेर सुदूरपश्चिमेलीहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।

सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथ योगीको अध्यक्षता तथा सदस्य अशोक शाहीको सन्चालनमा सम्पन्न गौरा पर्ब मेला कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैरआवासीय नेपाली सँघ अमेरिकाका आईसिसि सदस्य पदम ठकुराठीले नेपालको सुदूरपश्चिम क्षेत्र कला र सँस्कृतिको खानी भएकाले सुदूरपश्चिमेलीहरु जहाँ भएपनि कला सँस्कृतिको सँरक्षणमा एकै ठाउँमा उभिनु पर्ने कुरामा जोड दिनु भयो ।

बिशेष गरि चाडपर्बको समयमा प्रवासी नेपालीहरुलाई घरपरिवार, छरछिमेकी तथा आफ्ना परापूर्बकाल देखि मनाउदै आएको सँस्कृतिको अभाव महसुस हुने गर्दछ । त्यसैले आफ्नो सँस्कृति, चाडवाड मनाउने काममा नेपालीहरु एकै ठाउँमा उभिनु पर्ने ठकुराठीले बताउनु भयो ।

यसैगरि अर्को अतिथी बक्ता ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले नेपाली चाड पर्ब र सँस्कृतिले नेपालीहरुलाई एकताको मालामा जोडिरहेको बिचार ब्यक्त गर्नु भयो । हामी भौतिक रुपमा जो जहाँ भएपनि नेपाली कला सँस्कृतिको सँरक्षण तथा  नेपालीहरुलाई आपत बिपदमा एकै ठाउँमा उभिएर पहिचान जोगाउनु पर्ने भट्टको भनाई थियो । कार्यक्रममा गौरा पर्ब सह सँयोजक सुरेन अवस्थीले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमेली समुदायबाट एनआरएनए आईसिसि पदमा निर्बाचित पदम ठकुराठी र टेक्सास च्याप्टर महिला सचिब दिपा कार्की तथा सुदूरपश्चिम क्षेत्रका चर्चित कलाकार शँकरसिंह बिष्टलाई सम्मानित गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.