नेपाल फर्किने तयारीमा रहेका अग्रज पत्रकार बराल दम्पत्तिलाई ड्यालसमा सम्मान सहित बिदाई

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
सपनाको देश भनेर चिनिने अमेरिकाको करिब दुई दशकको बसाईलाई बिट मार्दै नेपाल फर्किने तयारी गर्नु भएका अग्रज पत्रकार तारा बराल दम्पत्तिलाई आज ड्यालसको अर्भिङमा एक कार्यक्रमका बीच सम्मान सहित बिदाई गरिएको छ । अमेरिकामा रहँदा टेक्सासको ड्यालसबाट सन्चालित हिमालय खबर अनलाईन पत्रिकाका सल्लाहकार सम्पादक समेत रहेका अग्रज पत्रकार बराल र सोही अनलाईनमा आबद्ध बिटु केसी बराललाई सम्मान सहित बिदाई गरिएको हो ।
हिमालय खबर अनलाईन पत्रिकाको आयोजनामा भएको सम्मान तथा बिदाई कार्यक्रममा उपस्थित नेपाली समुदायका अगुवाहरुले बराल दम्पत्तिले नेपाली समुदाय तथा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
सम्मान तथा बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले अमेरिका बसाईका क्रममा आर्जन गरेका ज्ञान सीपलाई नेपाल फर्केपछि नेपाली समुदायको हितमा प्रयोग गर्न बराल दम्पत्तिलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार तारा बरालले केही समयको लागि जो कोहीले प्रवास रोज्ने गरेको चर्चा गर्दै प्रवासमा सिकेका ज्ञान सीप र अनुभवलाई मातृभूमिमा प्रयोग गरेर योगदान दिन सक्नु पर्ने कुरामा जोड दिनु भयो ।
बिगत केही समयदेखि नै स्थायी रुपमा नेपाल फर्किने योजना बनाएको भएपनि अहिले समय जुरेको बरालले बताउनु भयो । हामी बाँकी समय मातृभूमिको सेवा गर्ने उद्देश्य सहित नेपाल फर्किदै छौं । तपाईहरु पनि आफ्नो अनुकुल समय पारेर नेपाल फर्किनुस, बरालले नेपाली समुदायका अगुवाहरुलाई आह्वान गर्नु भयो ।
पत्रकार सुजन पण्डितको सन्चालन तथा हिमालय खवर अनलाईनका कार्यकारी सम्पादक रामचन्द्र भट्टको अध्यक्षतामा सन्चालित बिदाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाँई, हिमालय खबरका सल्लाहकार सम्पादक शैलेशराज आचार्य, कान्तिपुरका संस्थापक सम्पादक योगेश उपाध्याय, गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशी, सहकोषाध्यक्ष यमुना भट्टराई, क्षेत्रीय संयोजक राम सी पोखरेल, समाजसेवी प्रभात दीक्षित, जनसम्पर्क समितिका नेता हरिबोल भण्डारी, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, नेजाका अध्यक्ष सुरज भण्डारी लगायतले बोल्नु भएको थियो ।
जीवनको उर्जावान समय नेपाली पत्रकारिता क्षेत्रको विकासमा खर्चिनु भएका बराल गोरखापत्र संस्थानको प्रधान सम्पादक, नेपाल टेलिभिजनको महाप्रवन्धक भएर योगदान गरिसक्नुभएको छ । बराल सन् २००४ देखि अमेरिकामा ह्युस्टनमा बसोवास गर्दै आउनु भएको थियो ।

 

फोटो साभार ः हिमालय खबर

Leave A Reply

Your email address will not be published.