घण्टेश्वर अनलाईन
अर्भिङ, टेक्सास,
“सिर्फुल लाएर माइत जाने बेलैमा
दहीको ठेकी बोकेर वेसी मेलैमा”
‘हरितालिका तीज’ हिन्दु नारीहरुको मौलिक साँस्कृतिक पर्ब हो । पछिल्लो समय बढ्दो आधुनिकतासँगै तिजको मौलिकपन हराउदै जान थालेको छ । तर आईतबार ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने लुम्बिनीबासी महिलाहरुले यस बर्षको तीजलाई मौलिक रुपमा मनाएका छन ।
लुम्बिनी सेवा समाजको आयोजनामा अर्भिङको भ्याली भ्यू स्थित करिलिफ रेष्टुरेन्टको सभाकक्षमा आयोजना गरिएको तीज बिशेष कार्यक्रममा महिलाहरुले लाईभ बाजामा आफुले रचना गरेको गीत गाए । अनि छमछमी नाचे ।
लुम्बिनीबासी महिलाहरुले गाएको तीज गीतमा नेपाली महिलाहरुको दुःख सुखका कुरा थिए । तिज पर्बमा महिलाहरुले आफ्नो घर परिवार, माईती घर, साँस्कृतिक चाडपर्बहरुलाई कसरी सम्झिन्छन भन्ने कुराको झल्को दिन्थ्यो ।
युटुवमा अपलोड गरिएका गीतमा त जो कोही पनि नाच्न सक्छ । हामीले हाम्रो मौलिक सँस्कृतिलाई जोगाउदै तिज गीत मनाउनु पर्छ । त्यसैले हामीले तीजको मौलिकता झल्किने गरि सामुहिक रुपमा तीज बिशेष कार्यक्रमको आयोजना गरेका हौं, लुम्बिनी सेवा समाजकी महिला सँयोजक राधिका खरालले बताईन ।
तिज बिशेष कार्यक्रममा बिभिन्न महिलाहरुले समुहमा तीज गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा बिभिन्न साना नानीहरुले प्रस्तुत गरेको तीज गीत नृत्य कार्यक्रमको आकर्षण थियो ।
कार्यक्रममा शुभकामना दिदै सामाजिक अभियन्ता यमुना भट्टराईले तीज कार्यक्रमले सामाजिक परिबर्तनमा सन्देश दिन सक्नु पर्ने कुरामा जोडदिनु भयो ।
तिज पर्ब महिलाहरुको महत्वपूर्ण चाड हो । हामीले आयोजना गर्ने तीज कार्यक्रमले मौलिक सँस्कृतिको त सँरक्षण गर्नु पर्छ नै । सामाजिक परिबर्तन तथा नयाँ पुस्तालाई सकारात्मक सन्देश दिन सक्नु पर्ने समाजसेवी भट्राईको जोड थियो ।
यसैगरि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले पनि साँस्कृतिक तथा अध्यात्मिक ज्ञानको अभावमा नेपाली चाडपर्बहरुको मौलिकपन हराउदै गएको धारणा व्यक्त गर्नु भयो । नेपाली सँस्कृति बिश्वको उत्कृष्ट रहेकाले यसको पुस्तान्तरण गर्न नेपाली साँस्कृतिक चाडपर्बहरुलाई महत्वका साथ मनाउनु पर्ने अध्यक्ष सापकोटाले बताउनु भयो ।
लुम्बिनी सेवा समाजका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले नेपालको लुम्बिनी क्षेत्र साँस्कृतिक रुपमा धनी भएकाले सँस्थाले हरेक चाडपर्बहरुलाई लुम्बिनी प्रदेशको झल्को दिने गरि आयोजना गर्दै आएको बताउनु भयो ।
लुम्बिनी सेवा समाज अमेरिकाका सचिब टंक अधिकारी र शिबप्रसाद गैरेको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न मौलिकता झल्काउने झाँकीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शुसिला न्यौपाने, कल्पना भण्डारी, कल्पना नेपाल, मुना खरेल, राधिका खराल, अरुणा ज्ञवाली, चम्फा भट्टराई, अश्विन अर्याल र सुदन खत्रीले तिज नृत्य प्रस्तुत गरेको समाजले जनाएको छ ।