अमेरिकाका बिभिन्न राज्यमा “गौरा पर्ब” धुमधामका साथ मनाईयो

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गौरा पर्ब सुदूरपश्चिम प्रदेशको प्रमुख साँस्कृतिक चाड हो । गौरा पर्बलाई सुदूरपश्चिमेलीहरुले धुमधामका साथ मनाउने गर्दछन । अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरा पर्ब धुमधामका साथ मनाएका छन ।
यस बर्षको गौरा पर्ब न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, क्यान्टुकी, टेक्सासको अस्टिन तथा ड्यालस फोर्टवर्थ लगायतका स्थानमा हर्षेल्लासका साथ मनाईएको त्यहाका सुदूरपश्चिम नेपाली समाजहरुले जनाएका छन ।
टेक्सास राज्यको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका सुदूरपश्चिमेलीहरुले यस बर्षको गौरा पर्ब गत आईतबार युलेश स्थित पशुपतिनाथ मन्दिरमा बिभिन्न कार्यक्रमका साथ मनाएका छन ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासको आयोजनामा भएको गौरा बिशेष कार्यक्रममा ड्यालस फोर्टवर्थ क्षेत्रमा बसोवास गर्ने सुदुरपश्चिमेलीहरु तथा गौरा कार्यक्रमको अबलोकन गर्न आएका अन्य नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
गौरा बिशेष कार्यक्रममा गौरा देबीको पूजाआजा, आठवाली, डेउडा तथा हुड्केली नृत्य, डोटेली साहित्य तथा सँस्कृतिको सँरक्षणमा उल्लेख्य  योगदान दिने बिभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथ योगीको अध्यक्षता तथा टेकेन्द्र भट्टको सन्चालनमा सम्पन्न गौरा बिशेष कार्यक्रममा गौरा पर्बको ऐतिहासिक पृष्ठभूमिको वारेमा सुदूरपश्चिमेली सँस्कृतिका जानकार दामोदर जोशीले प्रकाश पार्नु भएको थियो ।
गौरा बिशेष कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकार चाँदनी मल्ल र शंकरसिंह बिष्टले बिभिन्न प्रस्तुती मार्फत सहभागीहरुलाई मनोरन्जन प्रदान गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षण डेउडा तथा हुड्केली नाच रहेको थियो । सुदूरपश्चिमको बैतडी जिल्ला घर भई हाल भर्जिनिया बस्दै आएका कलाकार शंकरसिं बिष्टले सुदूरपश्चिमको लोकप्रिय हुड्केली नाच प्रस्तुत गर्दा कार्यक्रममा उपस्थित सहभागीहरु पनि बिष्टसँगै छमछमी नाचेका थिए ।
उक्त कार्यक्रममा सुदूरपश्चिमको महेन्द्रनगरबाट प्रकाशित हुने डोटेली भाषाको पत्रिका गुगुल्टी मासिकका प्रधान सम्पादक तथा डोटेली भाषाका साहित्यकार बीरबहादुर चन्द, डोटेली भाषाका साहित्यकार लक्ष्मी पन्त, डोटेली सँस्कृतिका जानकार दामोदर जोशी, डोटेली भाषा तथा सँस्कृतिको सँरक्षणमा महत्वपूर्ण योगदान दिने सुदूरपश्चिमका चर्चित कलाकार चाँदनी मल्ल तथा शंकरसिं बिष्टलाई सुदूरपश्चिम नेपाली समाज टेक्सासका सँस्थापक अध्यक्ष भक्तबहादुर भण्डारी र बर्तमान अध्यक्ष नवराज नाथ योगीले खादा ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष प्रकाश भट्टले स्वागत दिनु भएको सुदूरपश्चिम नेपाली समाज टेक्सासले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.