
घण्टेश्वर अनलाईन
लस एन्जल्स, क्यालिफोर्निया
क्यालिफोर्निया राज्यको लस एन्जल्स क्षेत्रमा बसोवास गर्ने नेपाली समुदायले बुधबार तीज कार्यक्रम धुमधामका साथ मनाएका छन । सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियाको आयोजनामा लस एन्जल्सको डाईमण्ड प्लेसमा आयोजना गरिएको तीज कार्यक्रममा सयौं नेपाली समुदायको सहभागिता रहेको थियो ।
तीज कार्यक्रममा सुदूरपश्चिमेली लगायत अन्य नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर तीज मनाएर सामाजिक एकता र सद्भावको सन्देश दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका अबैतनिक महा वाणिज्यदूत ऋषि ढकालले नेपालीहरु भौतिक रुपमा जहाँ भएपनि तीज लगायतका नेपाली चाडपर्बले सबैलाई एकताको मालामा जोडेको बिचार व्यक्त गर्नु भयो । अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तालाई नेपाली भाषा र सँस्कृतिको माध्यमबाट नेपालसँग जोड्नु पर्ने कुरामा बाणिज्यदूत ढकालको जोड थियो ।
सुदूरपश्चिम नेपाली समाज क्यालिफोर्नियाका उपाध्यक्ष हेमबहादुर ठकुल्लाको अध्यक्षता तथा समाजसेवी चक्र भण्डारीको सन्चालनमा सम्पन्न तीज बिशेष कार्यक्रममा समाजकी महिला उपाध्यक्ष खेमु रेग्मी शर्माले स्वागत गर्नु भएको थियो । कार्यक्रममा लोक गायक कलाकार कृष्ण देबकोटा लगायतका कलाकारहरुले बिभिन्न प्रस्तुती मार्फत मनोरन्जन प्रदान गर्नु भएको थियो । सोही कार्यक्रममा सुदूरपश्चिमको प्रसिद्ध डेउडा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
यसैगरि लस एन्जल्सको सेन्ट्रलिया लेकउडमा पनि गत आईतबार तीज बिशेष कार्यक्रमको आयोजना गरिएको छ । नेपाल अमेरिका एकता समाज क्यालिफोर्नियाको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो । तीज बिशेष कार्यक्रममा सहभागि महिलाहरु बिभिन्न तीज गीतमा छमछमी नाचेका थिए ।
नेपाल अमेरिका एकता समाज क्यालिफोर्नियाका अध्यक्ष रोशन अधिकारीको अध्यक्षता तथा महासचिब समशेर भण्डारीको सन्चालनमा सम्पन्न तीज बिशेष कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी नेपाल सरकारका अबैतनिक महावाणिज्य दूत ऋषि ढकालले तीज पर्बको साँस्कृतिक महत्वको वारेमा चर्चा गर्दै तीजको मौलिकपन जोगाउनु पर्ने बताउनु भयो ।
समाजका सल्लाहकार बेदभक्त जोशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सँस्थाका पूर्व अध्यक्ष शारदा श्रेष्ठले तीजको शुभकामना व्यक्त गर्नु भएको थियो ।
स्थानीय ३ सय भन्दा बढी नेपाली समुदायको सहभागिता रहेको उक्त कार्यक्रममा सँस्थाका उपाध्यक्ष अर्जुन पौडेलले स्वागत गर्नु भएको थियो भने धन्यवाद ज्ञापन समाजका अध्यक्ष रोशन अधिकारीले गर्नु भएको थियो ।
तीज बिशेष कार्यक्रमको दोश्रो शत्रको सन्चालन समाजसेवी प्रस्मिता शर्माले गर्नु भएको थियो । कार्यक्रममा लोक तथा दोहरी गायक कृष्ण देबकोटा तथा अमृत लुईटेलले बिबिध प्रस्तुती मार्फत सहभागि नेपाली समुदायलाई मनोरन्जन प्रदान गरेका थिए ।