नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपाल फर्काउन स्पष्ट नीति आबश्यक

All time tax

घण्टेश्वर अनलाईन
ड्यालस, टेक्सास
नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपाल फर्काउन नेपाल सरकारले नीति तथा कार्यक्रम बनाउनु गर्नुपर्नेमा बिज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन । अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्र अमेरिकाद्वारा आईतबार आयोजना गरिएको अनलाईन सेमिनार कार्यक्रममा सहभागिहरुले डायस्पोराका दोस्रो पुस्तालाई नेपालसँग जोड्न अहिले देखि नै पहल नगर्ने हो भने भबिष्यमा पहिचानको समस्या रहन सक्ने बताए ।
अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रका अध्यक्ष जगदम्वा अधिकारीको अध्यक्षता तथा डा. तीर्थराज जोशीको सन्चालनमा सम्पन्न सेमिनार कार्यक्रममा सहभागि बिज्ञ तथा सरोकारवालाहरुले डायस्पोराको अनुभव, ज्ञान, सीप, दक्षता र क्षमता राष्ट्र निर्माणको लागि उपयोगी पुँजी हुने अन्तर्राष्ट्रिय मान्यता भएपनि नेपालमा डायस्पोराको अनुभवको उपयोगका सम्बन्धमा कानुनको अभाव रहेको धारणा व्यक्त गरे ।
उक्त अनलाईन सेमिनार कमर्यक्रममा नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपालको कला संस्कृति र समाजसँग जोड्ने चुनौती, अवसर र त्यस सम्बन्धी विश्वव्यापी मान्यताहरूका बारेमा बिज्ञ तथा सरोकारवालाहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले नेपाली डायस्पोराका दोस्रो पुस्ताका लागि नेपाल सरकारले निर्माण गरेका नीति र कार्यक्रमहरूको वारेमा जानकारी गराउँदै नेपालको अहिलेको शिक्षा नीतिको सफल कार्यान्वयनको लागि नेपाली डायसपोराको दोस्रो पुस्ता उपयोगी हुने बिचार व्यक्त गर्नु भयो ।
यस्तै नेपाली दूतावास अमेरिकाका चार्ज डी अफेयर्स तथा कार्यबहाक राजदूत कुमार खरेलको धारणा पनि महानिर्देशक शर्माको जस्तै थियो । नेपालको संबिधानमा समेत नेपाली डायस्पोराको सन्दर्भमा स्पष्टसंग लेखिएकोले कानून निर्माण गरेर नीति तथा कार्यक्रम ल्याउन ढिला गर्न नहुने कार्यबहाक राजदूत खरेलले बताउनु भयो ।
कार्यक्रममा अमेरिकाको टेक्सासमा रहेर बिगत एक दशक देखि दोस्रो पुस्तालाई नेपाली भाषा, सँस्कृति मार्फत नेपालसँग जोड्न अगुवाई गरिरहेका डा. भोजबहादुर बलायरले नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने सन्दर्भमा अवसर, संभावना तथा चुनौतीहरुका विषयमा कार्यपत्र पेश गर्नु भएको थियो ।
नव–प्रवर्तन, विकाश र अनुसन्धानका लागि नेपाली डायस्पोरा र तिनको दोस्रो पुस्ताको उपयोग गर्न सक्नु नेपालको लागि उपयुक्त हुने र त्यसका लागि नेपाली दोस्रो पुस्तालाई नेपालमा शैक्षिक आदानप्रदान, स्वयंसेवकका कार्यक्रमहरू, मानव कल्याणकारी कार्यक्रम र पर्यटन मार्फत जोड्न सकिने डा. बलायरको सुझाव थियो ।
कार्यक्रममा सहभागि दोस्रो पुस्ताका नेपाली युवा प्रभास केसीले दोस्रो पुस्तालाई नेपालसँग जोड्ने सन्दर्भमा आफ्नो अनुभव सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो पुस्तालाई नेपालसँग जोड्ने हो भने नेपाली पहिचानका वारेमा घर देखि नै सिकाउनु पर्ने केसीको जोड थियो । अहिले देखि नै नेपाल सरकार तथा अन्य सरोकारवालाले चासो र पहल नगर्ने हो भने भविष्यमा दोस्रो पुस्ता अमेरिकन पनि बन्न नसक्ने र नेपाली पनि रहन नसक्ने अवस्था आउन सक्ने बताए ।
सेमिनारमा साउथर्न यूनिभरसिटी, युटाका प्राध्यापक डा. शोभा गुरुङले दोस्रो पुस्तालाई नेपालसँग जोड्ने सन्दर्भमा नेपालले चालेका कदमहरुको बारेमा, स्टोनी बु्रक विश्वविद्यालयका प्राध्यापक डा. स्थानेश्वर तिमिल्सिनाले आप्रवान जीवन र आत्मा पहिचानका बारेमा, मिशिगन स्टेट युनिभर्सिटीका लक्ष्मीप्रसाद ओझाले विश्वव्यापी परिप्रेक्ष्य (अनुसन्धान÷सैद्धान्तिक अन्तर्दृष्टि) का बारेमा र दोस्रो पुस्तालाई मुलदेशसंग जोड्ने विश्वव्यापी अभ्यासका बारेमा डा. राजन पन्तले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नेपाली डायस्पोराको दोस्रो पुस्तालाई नेपाल फर्काउने हो भने नेपाली भाषा, कला सँस्कृति हस्तान्तरण गर्नु पर्ने, नेपाली भाषाका अनलाईन कक्षाहरु सन्चालन गर्नु पर्ने, नेपालका बिश्वविद्यालयहरुले पनि दोस्रो पुस्तालाई अवसर दिनु पर्ने, दोस्रो पुस्ताको सन्जाल निर्माण गर्नु पर्ने र नेपाली भाषा सँस्कृतिका अतिरिक्त नेपाली समुदाय भित्रका बिबिध भाषा सँस्कृतिको सँरक्षण तथा हस्तान्तरण गर्नु आबश्यक रहेको उहाँहरुको सुझाव थियो ।

Leave A Reply

Your email address will not be published.