ण्टेश्वर अनलाइन
अस्टिन, टेक्सस
अमेरिकाको टेक्सस राज्यको राजधानी अस्टिनमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक छठीमाईको पूजा गरिएको छ। अस्टिनस्थित पशुपतिनाथ मन्दिर परिसरमा आयोजित छठ पूजामा मधेशी समुदायसहित नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। छठ पूजामा सहभागी हुन टेक्ससको अस्टिनलगायत आसपासका प्रमुख सहरहरूबाट समेत नेपालीहरू अस्टिन पुगेका थिए।
ग्रेटर अस्टिन नेपाली सोसाइटी र अस्टिन छठ पूजा समितिको संयुक्त आयोजनामा सम्पन्न पूजाका लागि मन्दिर परिसरमा विशेष व्यवस्था मिलाइएको थियो। पूजा स्थललाई आकर्षक रूपमा सजाउनुका साथै व्रतालु तथा श्रद्धालुहरूका लागि सूर्यलाई अर्घ्य अर्पण गर्न पानीको पोखरीसमेत निर्माण गरिएको थियो।
ग्रेटर अस्टिन नेपाली सोसाइटीका उपाध्यक्ष तथा मधेशी समुदायका अगुवा धीरेन्द्र यादवले यस वर्ष तीन दिनसम्म छठ पर्व मनाइने जानकारी दिनुभयो। छठ पर्वको कार्यक्रमअनुसार नोभेम्बर १४, शनिबार खरना कार्यक्रम आयोजना गरिएको थियो।
त्यस्तै, नोभेम्बर १५, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र नोभेम्बर १६, सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने कार्यक्रम तय गरिएको छ। सोमबार बिहान पूजा सम्पन्न भएपछि प्रसाद वितरण गरी छठ पर्वको समापन गरिने ग्रेटर अस्टिन नेपाली सोसाइटीले जनाएको छ।
विगतका वर्षहरूमा मधेशी समुदायले छुट्टै रूपमा छठ पर्व आयोजना गर्दै आएको भए पनि पछिल्लो समय ग्रेटर अस्टिन नेपाली सोसाइटीले यसको आयोजनामा अगुवाइ गर्दै आएको छ। प्रवासमा नेपाली भाषा, संस्कृति, परम्परा र मौलिक चाडपर्वको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले यस वर्ष पनि सामूहिक रूपमा छठ पर्व आयोजना गरिएको ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष पदम ठकुराठीले बताउनुभयो।
उहाँले भन्नुभयो, “हामी प्रवासमा मिनी नेपाल निर्माण गर्ने अभियानमा छौँ। नेपाली भाषा र संस्कृतिलाई प्रवासमा स्थापित गर्ने हाम्रो उद्देश्य हो। दसैँ, तिहार तथा छठ पर्व नेपाली समुदायको पहिचानसँग जोडिएका पर्व हुन्। त्यसैले छठ पर्व मधेशी समुदायको मात्र नभई सबै नेपालीको साझा सांस्कृतिक पर्वका रूपमा विकास हुनुपर्छ। सबै नेपाली सहभागी भएर सामूहिक रूपमा छठ पर्व मनाउने परम्पराको सुरुवात गरेका छौँ।”
छठ पर्व सूर्यदेव र छठीमाताको पूजा–आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्ने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। विशेषगरी नेपालको तराई–मधेश क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने यो पर्व पछिल्लो समय नेपालका विभिन्न समुदाय तथा विदेशमा बसोबास गर्ने नेपालीमाझ पनि लोकप्रिय हुँदै गएको छ।
छठ पर्वको सामूहिक आयोजनाले नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। प्रवासमा विभिन्न जातजाति, भाषा, संस्कृति र परम्परा भएका नेपालीहरू एउटै स्थानमा भेला भएर आ–आफ्ना मौलिक पर्व मनाउनुले नेपालीपन र सामुदायिक एकताको सन्देशसमेत दिएको छ।
पछिल्लो समय छठ पर्वमा नेपाली समुदायको सहभागिता बढ्दै जानुले यो पर्व मधेशी समुदायमा मात्र सीमित नरही समग्र नेपाली समुदायको साझा सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा विकसित हुँदै गएको देखिन्छ।
