नारायण भण्डारी
अस्टिन, टेक्सास
अमेरिकास्थित नेपाली राजदूतावास, वासिङ्टन डीसीले टेक्सासको राजधानी अस्टिनलगायत आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएको छ।
ग्रेटर अस्टिन नेपाली सोसाइटीसँगको समन्वयमा आयोजना हुन लागेको उक्त अन्तरक्रिया कार्यक्रम आगामी नोभेम्बर २२ गते आइतबार दिउँसो ३ बजे अस्टिनस्थित ग्यान्सको कम्युनिटी सेन्टरमा सञ्चालन हुनेछ।
कार्यक्रममा नेपाली राजदूतावास तथा डालसस्थित नेपाली महावाणिज्य दूतावासबाट प्रदान गरिने सेवा सुविधा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले भोग्नुपरेका समस्या तथा नेपाली समुदायका लागि दूतावास र महावाणिज्य दूतावासले निर्वाह गर्नुपर्ने भूमिका तथा बिदेशमा बस्ने नेपालीहरुले मातृभूमिको पक्षमा खेल्नु पर्ने भूमिका लगायतका विषयमा खुला छलफल तथा अन्तरक्रिया हुने ग्यान्सले जनाएको छ।
कार्यक्रममा वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज आरण, डालासस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत सुरेश अधिकारीसहित दुवै निकायका अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहनेछ।
अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अस्टिन तथा आसपासका क्षेत्रमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा, समाजसेवी, स्थानीय सञ्चारकर्मी तथा नेपाली उद्योगी व्यवसायीहरूलाई ग्रेटर अस्टिन नेपाली सोसाइटीले आग्रह गरेको छ।