घण्टेश्वर अनलाइन
ड्यालस, टेक्सस।
टेक्ससको ड्यालस क्षेत्रमा सक्रिय लायन्स क्लबहरूको आयोजनामा आगामी नोभेम्बर २२ मा बृहत् लायन्स रक्तदान कार्यक्रम हुने भएको छ। स्वर्गीय लायन इरा आचार्यको स्मृतिमा लायन्स क्लब डिस्ट्रिक्ट २x१ ले उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार नोभेम्बर २२, आइतबारका दिन टेक्ससको अर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुनेछ।
रक्तदानमार्फत मानवीय सेवामा योगदान पुर्याउनुका साथै जीवन बचाउने अभियानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। उक्त कार्यक्रमका लागि ब्लड डोनर्स अफ अमेरिका (बीडीए) टेक्ससको समन्वय तथा कार्टर ब्लड केयरको प्राविधिक सहयोग रहनेछ।
रक्तदानलाई जीवन बचाउने महत्त्वपूर्ण मानवीय सेवाका रूपमा लिँदै आयोजकले टेक्ससमा बसोबास गर्ने नेपालीलगायत सबै समुदायका सदस्यलाई रक्तदान कार्यक्रममा सहभागी भई सामाजिक सेवामा योगदान पुर्याउन आग्रह गरेका छन्।