घण्टेश्वर अनलाईन, सिलगढी डोटी
विगत तीन बर्षको तथ्याङ्क हेर्दा डोटी जिल्लामा सँस्थागत सुत्केरी गराउने महिलाहरुको सँख्यामा बृद्धि हुँदै गएको पाईएको छ ।
स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५/७६ मा ७१ प्रतिशत, आ.बं. २०७६÷७७ मा ७२ प्रतिशत र आ.वं.२०७७÷७८ मा ८३ प्रतिशत महिलाहरुले स्वास्थ्य सँस्थामा सुत्केरी गराएका थिए ।
स्वास्थ्य कार्यालयले हरेक बर्ष शतप्रतिशत महिलाहरुलाई सूचिकृत स्वास्थ्य सँस्थामा सुत्केरी गराउने लक्ष्य लिएपनि बिभिन्न कारणले सफल हुन नसकेको बुधबार स्वास्थ्य कार्यालयमा आयोजना गरिएको पत्रकारसँगको अन्तरकृया कार्यक्रममा निमित्त कार्यालय प्रमुख उद्धब सिंह ठगुन्नाले बताउनुभयो ।
बिगतको तुलनामा सँस्थागत सुत्केरी गराउनेहरुको सँख्यामा बृद्धि भएको छ तर लक्ष्य पुरा गर्नको लागि सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, पत्रकार, राजनैतिक दल सबैको भूमिका बढाउनु पर्ने कुरामा कार्यालय प्रमुख ठगुन्नाले जोड दिनु भयो ।
हाल कायम रहेका वर्थिङ सेन्टरको सुदृढिकरण, आबश्यकता अनुसार थप स्थापना गर्ने, दक्ष स्वास्थ्यकर्मीको पदपूर्ति, स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि, जनचेतना अभिबृद्धि जस्ता कृयाकलापमा जोड दिनु पर्ने ठगुन्नाको जोड थियो ।
यसैगरि चालु आर्थिक बर्षको ११ महिनाको अबधिमा १ हजार ७ जनाले १४ स्वास्थ्य सँस्थामा सुरक्षित गर्भपतन गराएका छन । सुरक्षित गर्भपतन गराउनेमा सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा २ सय ४५ जना महिला र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा ५ जना महिला रहेका छन । त्यस्तै चालु आर्थिक बर्षको ११ महिनाको अबधिमा ३ सय ३२ जना महिला पुरुषले स्थायी बन्ध्याकरण गरेका छन् । स्वास्थ्य कार्यालय डोटीले हरेक बर्ष आर्थिक बर्षको अन्तिम महिनामा जिल्लाको स्वास्थ्य क्षेत्रका गतिबिधिहरुलाई पत्रकार अन्तरकृया गरि सार्बजनिक गर्दै आएको छ ।