घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
नेपाली समाज टेक्सासले नयाँ बर्ष २०७९ को अवसर पारि आज आयोजना गरेको बृहत बनभोज कार्यक्रममा सयौं नेपाली समुदायले सहभागिता जनाएका छन ।
टेक्सासको Grand Prairie स्थित Loyd Park मा आयोजना गरिएको बनभोज कार्यक्रमलाई नेपाली समुदायले एक उत्सवको रुपमा मनाए । नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेतीका अनुसार कार्यक्रममा १ हजार ६ सय ७५ बढी नेपाली समुदायको सहभागिता रहेको थियो ।
बनभोज कार्यक्रमका अतिरिक्त बालबालिकाको लागि चम्चा दौड प्रतियोगिता, महिलाहरुका लागि घैंटो फुटाउने र तातो आलु प्रतियोगिता, युवाहरुका लागि भलिवल प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली समुदायका बालबालिकाले प्रस्तुत गरेको नृत्य बिशेष आकर्षण रहेको थियो । उक्त अवसरमा नेपाली समुदायका बालबालिकाले बिभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
अमेरिकामा जन्मेका र यतै हुर्केका नेपाली समुदायका बालबालिकाले नेपाली भाषाका गीत तथा नृत्य प्रस्तुत गर्दा उनीहरुको अभिभावकहरु निकै खुशी देखिन्थे । मत अबका पुस्ताले नेपाली भाषा बिर्सि सकेको जस्तो लागेको थियो । तर घरमा अँग्रेजी भाषामा मात्र कुरा गर्ने आफ्नी छोरीले नेपाली भाषामा गीत गाउँदा निकै खुशी लाग्यो, एक अभिभावकले प्रतिकृया दिए ।
कार्यक्रममा बालबालिका, युवा, बृद्ध तथा बिभिन्न पेशा व्यवसायमा सँलग्न नेपाली समुदायको सहभागिता रहेको थियो । उनीहरुले नयाँ बर्षको अवसरमा एक आपसमा परिचय तथा शुभकामना आदान प्रदान गरेका थिए । उक्त कार्यक्रममा नेपाली समाज टेक्सास स्वास्थ्य बिभागले स्वास्थ्य शिबिरको आयोजना गरेको थियो । नेपाली स्वास्थ्यकर्मीद्धारा बिरामी चेकजाँच गरिएको उक्त स्वास्थ्य शिबिरबाट नेपाली समुदायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको नेपाली समाजले जनाएको छ ।
यसै गरि कार्यक्रममा नेपाली समुदायको लागि जानकारीमूलक बिभिन्न स्टल पनि राखिएको थियो । कार्यक्रममा नेपाली समाज टेक्सासका महासचिब उप्रेतीले कार्यक्रममा सहभागि सबैलाई धन्यबाद दिनु भएको थियो । हामीले सोचे भन्दा पनि उल्लेख्य सहभागिता रह्यो । यसले नेपाली समाज प्रति नेपाली समुदायले अपनत्व छ । नेपाली समाज नेपाली समुदायको साझा घर हो भन्ने पुष्टि गरेको बताउनु भयो ।
प्रायजसो काममा रहनु पर्ने अमेरिकाको जीवन शैलीका कारण नेपाली समुदायहरु ठूलो सँख्यामा जमघट भएको पहिलो पटक भएको बताईएको छ । नेपाली चाडपर्बको समयमा सार्बजनिक बिदा नहुने भएकाले नेपाली समुदायले चाडपर्बको केहि दिन अघि वा पछि शनिबार तथा आईतबार पारेर चाड पर्ब मनाउने चलन रहेको छ ।