घण्टेश्वर अनलाईन
टेक्सास अमेरिका
नेपाली समाज टेक्सासले नेपाली समुदायलाई लक्षित गरि स्वास्थ्य सम्बन्धि सचेतना अभियान शुरु गर्ने भएको छ । विदेशमा फरक जीवन शैलीका कारण नेपाली समुदायहरु स्वास्थ्य सम्बन्धि बिभिन्न समस्याको जोखिममा रहेकाले अभियान सन्चालन गर्न लागिएको नेपाली समाज टेक्सासले जनाएको छ ।
सचेतना अभियान अन्तरगत नेपाली समुदायलाई लक्षित गरि स्वास्थ्य शिबिरको आयोजना गरि स्वास्थ्य परीक्षण गर्ने, उच्च रक्तचाप, मधुमेह लगायतका बिभिन्न समस्याहरु पत्ता लगाई आबश्यक निदानको उपायहरु सुझाउने साथै स्वास्थ्य सेमिनारको आयोजना गरि नेपाली स्वास्थ्य बिज्ञहरुद्धारा स्वस्थ जीवन शैली अपनाउने सम्बन्धि जानकारी प्रवाह गर्ने कार्यक्रम रहेको नेपाली समाजका महासचिब सन्देश उप्रेतीले जानकारी दिनु भयो ।
अमेरिकामा प्रबिधि तथा सेवामा सहज पहुँच भएका कारण नेपाली समुदायहरु शारीरिक रुपमा सकृय रहँदैनन । अस्वस्थ खानपान तथा जीवन शैलीका कारण उच्च रक्तचाप तथा मधुमेह जस्ता रोगबाट प्रभावित भईरहेका छन । त्यसमा पनि अमेरिकमा स्वास्थ्य उपचार महँगो भएका कारण नेपाली समुदायलाई खराव जीवन शैली हटाई स्वस्थ जीवन शैली अपनाउन समयमा सल्लाह दिने सचेतना अभियानको उद्देश्य रहेको समाजले जनाएको छ ।
नेपाली समुदायमा स्वास्थ्य सम्बन्धि सचेतना अभियान प्रभावकारी देखिएकाले मासिक रुपमा सन्चालन गर्ने योजना बनाई रहेको महासचिब उप्रेतीले बताउनु भयो ।
यसै सन्दर्भमा गत अप्रिल २४ गते युलेसमा स्वास्थ्य सेमिनारको आयोजना गरि नेपाली समुदायलाई स्वास्थ्य सम्बन्धि जानकारी प्रवाह गरिएको छ ।
उक्त कार्यक्रममा नेपाली समाज टेक्सासका उपाध्यक्ष डा. विष्णुमाया उपाध्याय, गैर आवासिय नेपाली सँघ अमेरिका स्वास्थ्य कमिटीका सँयोजक डा. प्रकाश श्रेष्ठ र पोषण बिज्ञ कृष्ण केसीले नेपाली समुदायले भोग्नु परेका प्रमुख स्वास्थ्य समस्याहरु, स्वस्थ जीवन शैलीका लागि ध्यान दिनु पर्ने कुराहरु, सँक्रामक रोग र यसबाट बच्ने उपायहरु, पोषण लगायतका बिषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा नेपाली समाज टेक्सासका स्वास्थ्य कमिटी सँयोजक सुदन श्रेष्ठले कार्यक्रमको उद्देश्यको वारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रममा सहभागि नेपाली समुदायको स्वास्थ्य परीक्षण गरि उच्च रक्त चाप र मधुमेहको समस्या पत्ता लगाईएको थियो ।