
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
टेक्सासको युलेसमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जना रक्तदाताले रक्तदान गरेका छन । रक्तदान कार्यक्रमको लागि ५९ जनाले नाम दर्ता गराएको भएपनि कार्यक्रममा जम्मा ४६ जना रक्तदाता मात्र सहभागि भएको आयोजक सँस्था हिमालय खबर अनलाईनका प्रबन्ध सम्पादक बिकासराज न्यौपानेले जानकारी दिनु भयो ।
अमेरिकी रेडक्रसको संयोजन तथा हिमालय खबर अनलाईन पत्रिका, सिटी अफ युलेस, ब्लड डोनर्स अमेरिकाको आयोजनामा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्दै युलेस सिटीकी मेयर लिण्डा मार्टिनले रक्तदान जीवन दान भएको बताउदै रक्तदान जस्तो मानवीय सेवाको कार्यमा सँलग्न हुन पाउँदा खुशी लागेको बताउनु भयो ।
उक्त रक्तदान कार्यक्रममा ब्लड डोनर्सका पूर्ब अध्यक्ष डा. नन्द रेग्मी, टेक्सस शाखा अध्यक्ष अजय बगाले, सिटी काउन्सिल सदस्यहरु टीका पौडेल, इडी प्राइस, हिमालय खबरका प्रवन्ध सम्पादक विकासराज न्यौपाने, शिव काफ्ले लगायतका बक्ताहरुले रक्तदान कार्यक्रमको महत्वको वारेमा चर्चा गर्नु भएको थियो ।
टेक्सासको युलेसबाट सन्चालित हिमालय खबर अनलाईन पत्रिकाले स्थानीय स्तरका बिभिन्न सँस्थाहरुसँग सहकार्य, समन्वय गरेर सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न समयमा रक्तदान कार्यक्रम लगायत रचनात्मक कार्यक्रम गर्दै आएको छ ।