टेक्सासका बिभिन्न स्थानमा हरितालिका तीज भव्य रुपमा मनाईयो
पशुपतिनाथ मन्दिरमा हजारौं नेपाली नारीहरुले दर्शन तथा पूजाआजा गरे
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
हिन्दु नारीहरुको महत्वपूर्ण चाड हरितालिका तीज अमेरिकाको टेक्सास राज्यका बिभिन्न स्थानमा बसोवास गर्ने नेपाली समुदायहरुले भब्य रुपमा मनाएका छन । दुई साता अघिदेखि नेपाली समुदायहरुले सार्बजनिक स्थानमा तथा समुदाय स्तरमा सामुहिक दरखाने कार्यक्रम, साँस्कृतिक कार्यक्रम, तीज कार्यक्रम आयोजना गरि तीज मनाएको फोर्टवर्थ केलरका डम्बर थापाले बताउनु भयो ।
टेक्सासका बिभिन्न स्थानमा नेपाली समुदाय तथा भुटानीमूलका नेपाली समुदायहरुको उल्लेख्य बसोवास रहेको छ । नेपाली समुदायहरुले सबैलाई अनुकुल स्थान तथा पायक पर्ने स्थानमा तीज कार्यक्रम आयोजना भईरहेका छन । तीज कार्यक्रम आफु अनुकुलको समयमा पँचमी तिथीको दिनसम्म नाचगान गरि मनाईने नेपाली समुदायका महिलाहरुले बताएका छन ।
प्रवासमा आयोजना गरिने बृहत तीज कार्यक्रमको व्यवस्थापनमा खासगरि पुरुषहरुले नै गर्ने गरेका छन । समुदाय स्तरमा आयोजना गरिने तीज कार्यक्रमको भने महिलाहरु स्वयँले गर्ने गरेका छन । यसबिचमा टेक्सासमा रहेका नेपाली समुदायका नामचलेका सँस्थाहरु नेपाली समाज टेक्सास, नेपाली साँस्कृतिक तथा अध्यात्मक केन्द्र, लुम्बिनी समाज, ग्रेटर अस्टिन नेपाली समाज अस्टिन, अमेरिका मधेसी नेपाली समाज, लम्जुङ समाज र केलर साँस्कृतिक समुहले सार्बजनिक स्थानमा बिभिन्न साँस्कृतिक कार्यक्रम, सामुहिक दरखाने कार्यक्रम सहित बृहत तीज कार्यक्रम सम्पन्न गरि सकेका छन ।
प्रवासमा आयोजना गरिने नेपाली मौलिक चाडपर्बहरुले प्रवासमा नेपालीपन झल्किने, चाडपर्बमा एक्लोपन हट्ने र अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्ताहरुलाई नेपाली मौलिक परम्परा सँस्कृति र चाडपर्बहरुसँग जोड्न ठूलो सहयोग गर्ने फोर्टवर्थ हर्मोन रोडकि उषा बिष्टको धारणा रहेको छ ।
आज मँगलबार तीजको दिन टेक्सासका रहेका बिभिन्न स्थानमा रहेका नेपाली मन्दिरहरुमा तीज पुजाको लागि दर्शनार्थी भक्तजनहरुको बिहानै देखि घुईचो लागेको थियो । टेक्सासको अर्भिङ स्थित पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्ने देखिए पछि नेपाली मन्दिर ब्यवस्थापन समितिले अनलाईनबाट नाम दर्ता गरेर ३ चरणमा पूजाआजा गर्ने ब्यवस्था मिलाएको नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रले जनाएको छ ।
टेक्सासमा रहेका नेपाली हिन्दु धर्मालम्बीहरुलाई सहज होस भनेर नेपाली समुदायका बिभिन्न सँस्थाहरुले अर्भिङमा पशुपति नाथ तथा बुद्ध मन्दिर, प्लानोमा राम मन्दिर लगायतका मन्दिरहरु र सार्बजनिक भवनमा पूजाआजाको व्यवस्था मिलाएका थिए ।
टेक्सासको राजधानी अस्टिनमा रहेको ग्रेटर अस्टिन नेपाली सोसाईटी कम्यूनिटी सेन्टरमा पं नारायण खकुरेलबाट तीज पुजाको ब्यवस्था मिलाईएको र सयौं नेपाली हिन्दु नारीहरुले पूजाआजा गरेको ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।