घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिन स्थित ग्रेटर अस्टिन नेपाली समाजको वार्षिक साधारण सभा तथा ग्यान्स बडा दशैं शुभकामना आदान प्रदान कार्यक्रम आईतवार अस्टिनमा सम्पन्न भएको छ ।
ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको सभाकक्षमा सम्पन्न वार्षिक साधारण सभा तथा दशैं शुभकामना कार्यक्रम समाजका अध्यक्ष भोजराज भट्टको अध्यक्षता तथा महासचिब बिदुर खतिवडाको सन्चालनमा भएको थियो ।
उक्त वार्षिक साधारण सभा कार्यक्रममा महासचिब बिदुर खतिवडाद्वारा प्रस्तुत साँगठनिक प्रतिबेदन, कोषाध्यक्ष सहकुल कोईरालाद्वारा प्रस्तुत उक्त आर्थिक प्रतिबेदन, समाजका पूर्ब अध्यक्ष देबराज न्यौपानेले प्रस्तुत गर्नु भएको ग्रेटर अस्टिन नेपाली सामुदायिक तथा अध्यात्मिक केन्द्रको प्रतिबेदन, पूर्ब उपाध्यक्ष प्रद्युम्न श्रेष्ठले प्रस्तुत गर्नु भएको पशुपति नाथ मन्दिर निर्माण कार्यको प्रतिबेदन छलफल सहित पारित गरिएको समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
कार्यक्रममा पूर्ब अध्यक्ष गेहेन्द्र केसी, सामाजिक अभियन्ताहरु कमल अधिकारी, ईश्वर श्रेष्ठ तथा ईन्जिनियर भिष्म अधिकारीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान गरिनुका साथै विविध साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । करिब ४ सय ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरुका लागि दशैं भोज कार्यक्रमको आयोजना गरिएको समाजले जनाएको छ ।