घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
“भनभन भाई हो, देउसिरे
जिपिएस लगाएर, देउसिरे
हामी आयौं, देउसिरे
देउसि खेल्न, देउसिरे”
अमेरिकाको टेक्सासका बिभिन्न स्थानमा रहेका नेपाली समुदायले यस बर्षको दिपावली पर्ब देउसी भैलो खेलेर मनाएका छन । टेक्सासमा बसोवास गर्ने नेपाली समुदायले स्थापना गरेका सामाजिक सँस्थाहरुले दिपावली पर्बको अवसरमा एकैठाउँमा जम्मा भएर देउसी भैलो कार्यक्रम आयोजना गरेका थिए ।
समय ब्यवस्थापन तथा यातायातको सहजताका लागि कतिपयले सँस्थाले स्थानीय पार्कहरुमा देउसी भैलो कार्यक्रमको आयोजना गरेका थिए भने कतिपय सँस्थाहरुले आफ्ना सदस्यहरुको घरदैलो मै पुगेर देउसी खेलेका थिए ।
टेक्सासको भौगोलिक बनावट ठूलो भएका कारण भैली खेल्न गुगल म्याप (जिपिएस) लगाएर आउनु परेको भैली भट्याउदा बताएका थिए ।
टेक्सासको भौगोलिक बनावट ठूलो भएका कारण बिभिन्न टोली बनाएर ३ दिन सम्म देउसी भैलो खेल्न अधिकाँश सुदूरपश्चिमेलीको घरमा पुगेको सुदूरपश्चिम नेपाली समाजका महासचिब गोबिन्द शाहीले बताउनु भयो ।
अमेरिकाको व्यस्त जीवन शैलीका कारण नेपाली चाड पर्बको समय पारेर सुदूरपश्चिमेलीहरु बेलाबेलामा एकै ठाउँमा जम्मा भएर रमाईलो गर्ने गरेको शाहीले बताए ।
यसै गरि टेक्सासको राजधानी अस्टिनका बिभिन्न स्थानमा बसोवास गर्ने नेपाली समुदायले पनि सँगै देउसी भैलो खेलेर दिपावली पर्ब मनाएका छन । ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको आयोजनामा ३ दिनसम्म देउसी भैलो खेलिएको थियो । अस्टिनका बिभिन्न क्षेत्रमा रहेका अधिकाँश नेपाली समुदायको घरदैलोमा पुगेर देउसी भैलो खेलिएको समाजका अध्यक्ष भोजराज भट्टले बताउनु भयो ।
टेक्सासको युलेस स्थित लुम्बिनी सेवा समाजले पनि दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको जनाएको छ । समाजको आयोजनामा आईतबार युलेस स्थित पार्कमा जम्मा भएर सामुहिक देउसी भैलो तथा दिपावली तथा छट पर्बको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने कार्यक्रम रहेको समजका अध्यक्ष जगदिसप्रसाद न्यौपानेले बताउनु भयो ।
यसैगरि नेपाली समाज टेक्सासले पनि अधिकाँश नेपाली समुदायको घरमा पुगेर देउसी भैलो खेलेको जनाएको छ ।
अमेरिकामा जन्मेका र यतै हुर्केका दोश्रो पुस्तालाई नेपाली सँस्कृति हस्तान्तरण गर्न र प्रवासमा नेपाली सँस्कृति जोगाउन नेपाली चाड पर्बहरुलाई व्यवस्थित रुपमा मनाउन आबश्यक रहेको टेक्सास स्थित नेपाली समुदायका अगुवाहरु बताउछन ।