
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सास स्थित नेपाली समुदायले आज टेक्सास राज्य १०५ का राज्य प्रतिनिधि सभा सदस्य टेरी मेजालाई भेटेर नेपालीहरुका सवालको वारेमा जानकारी गराएको छ ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले राज्य प्रतिनिधि सभा सदस्य टेरी मेजालाई नेपालीहरुका सवालहरुका वारेमा ५ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।
राज्य प्रतिनिधि सभा सदस्य मेजालाई बुझाएको माग पत्रमा नेपाली भाषामा चालक अनुमति पत्र (ड्राइभिङ्ग लाइसेन्स ) र सरकारी सूचनामा प्रयोग, नेपाली सांस्कृतिक दिवसको राज्य घोषणा (स्टेट डिक्लारेसन ), नेपाली समुदायको प्रमुद चाडपर्ब दशैं तिहारमा सार्वजनिक बिदा, बिद्यालयहरुमा नेपाली भाषालाई दोश्रो भाषामा प्रयोग र सामुदायिक केन्द्र स्थापना र सरकारी बजेटको व्यवस्था हुनुपर्ने लगायतका रहेका छन ।
नेपाली समाज टेक्ससले बुझाएको माग पत्र आजै दर्ता समेत गरिएको छ । माग पत्र बुझाउनु अघि नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली समुदायका मागको वारेमा पढेर सुनाएका थिए । साथै उक्त प्रतिनिधि मण्डलले सांसद मेजालाई बुद्धको प्रतिमा समेत कोशेलीको स्वरुप प्रदान गरिएको थियो ।
उक्त अवसरमा राज्य प्रतिनिधि सभा सदस्य टेरी मेजाले नेपाली समाजले पेश गरेको मागको वारेमा आफु सकारात्मक रहेको र चालु संसद अधिबेशनमा छलफल हुने बताउनु भयो ।
ड्यालसको आर्भिङ्ग निवासी टेरी मेजा नोभेम्बर ८ मा सम्पन्न निर्बाचनमा डेमोक्र्याटिक दलबाट निर्बाचित भएकी थिईन ।