पत्रकार लक्ष्मण तिवारीकी आमाको दाहसँस्कारको लागि टेक्सासमा सहयोग अभियान
शनिबार डालसमा दाहसँस्कार गरिने
घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नेपाल पत्रकार महासँघ कन्चनपुरका पूर्ब अध्यक्ष तथा पत्रकार लक्ष्मण तिवारीलाई मातृशोक परेको छ । कन्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. २ भाँसी निवासी पत्रकार तिवारीकी आमा सोमवती तिवारीको ५७ बर्षको उमेरमा मँगलबार टेक्सासको डालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा हृदयघातबाट असामयिक निधन भएको हो ।
यसै साता टेक्सासको फोर्टवर्थमा आयोजना हुने कान्छो भाई आनन्द तिवारीको विवाह कार्यक्रममा सहभागि हुन बुवा रमेश तिवारी र आमा सोमवती तिवारी टेक्सास जाँदै हुनु हुन्थ्यो । टेक्सासको डालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलबाट मँगलबार बाहिरिने क्रममा अकस्मात आमालाई हृदयघात भएर दुःखद निधन भयो, पत्रकार तिवारीले घण्टेश्वर अनलाईनसँग बताउनु भयो ।
यसै सन्दर्भमा टेक्सासको डालस फोर्टवर्थ अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा मँगलबार हृदयघातबाट निधन भएकी कन्चनपुरका पत्रकार लक्ष्मण तिवारीकी आमा सोमवती तिवारीको दाहसँस्कारको लागि यहाँका बिभिन्न सँस्थाहरुले सहयोग अभियान शुरु गरेका छन ।
नेपाली समाज, टेक्सास, सुदूरपश्चिम नेपाली समाज टेक्सास, नेपाल अमेरिका पत्रकार सँघ लगायतका सँस्थाहरुले पत्रकार तिवारीकी आमाको अन्तिम दाहसँस्कारको लागि सम्बन्धित सम्बन्धित निकायमा आबश्यक प्रकृया तथा सहयोगको लागि सहयोग अभियान शुरु गरेको सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथले जानकारी दिनु भयो ।
युनिभर्सिटी अफ मेरिल्याण्डमा पिएचडी अध्ययनका लागि ३ बर्ष पहिले अमेरिका आएका पत्रकार तिवारीका भाई आनन्द तिवारीको आउदो शुक्रबार टेक्सासको फोर्टवर्थमा विवाह कार्यक्रम तय भएको थियो । आमाको अकस्मात निधन भएपछि पत्रकार तिवारीकी क्यानाडा निवासी बहिनी लगायत नातेदारहरु, शुभचिन्तकहरु टेक्सास आउने क्रम जारी रहेको छ ।
पत्रकार तिवारीकी ५८ बर्षिय आमा सोमवती तिवारीको असामयिक निधन प्रति नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथ, नेपाल अमेरिका पत्रकार सँघका अध्यक्ष बिकासराज न्यौपाने, रिपोटर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मीले सामाजिक सन्जाल मार्फत गहिरो दुःख ब्यक्त गरेका छन ।