घण्टेश्वर अनलाईन
अस्टिन, टेक्सास
अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिन शहरमा बसोवास गर्ने नेपाली समुदायले यस बर्षको होली पर्ब धुमधामका साथ मनाएका छन ।
नेपाली समुदायको सँस्था ग्रेटर अस्टिन नेपाली समाजद्वारा आईतबार समाजको सामुदायिक केन्द्र परिसरमा बिभिन्न कार्यक्रमका साथ होली पर्ब मनाईएको समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
होली पर्बको अवसरमा एक आपसमा रङ्ग लगाएर शुभकामना आदानप्रदान गर्नुका साथै बालबालिकाहरुका लागि पेन्टिङ्ग प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
होली कार्यक्रममा सहभागि भएका युवा युवती, अभिभावकहरु, वालवालिकाहरु समेत बिभिन्न होली गीतमा नाचगान गरेर रँगीन होलीलाई थप सँगीतमय बनाएका थिए ।
समाजका अनुसार होली मनाउन आएका नेपाली समुदायको लागि निःशुल्क भोजनको पनि ब्यवस्था गरिएको थियो । होली कार्यक्रममा अनुमान गरे भन्दा बढीको सहभागिता रहेकाले समाजका स्वयंसेवकहरुलाई ब्यवस्थापन गर्न भ्याई नभ्याई भएको थियो । अस्टिनमा आयोजना हुने बिभिन्न नेपाली चाडपर्बमा बिगतको तुलनामा उल्लेख्य रुपमा सहभागिता र आफ्नो सँस्कृति प्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष भट्टले बताउनु भयो ।
ग्रेटर अस्टिन नेपाली समाजले सामाजिक सन्जाल मार्फत होली कार्यक्रममा सहभागि तथा सहयोगी सबैलाई धन्यवाद समेत दिएको छ ।
ग्रेटर अस्टिन नेपाली समाजले नेपाली समुदायका प्रमुख चाडपर्बहरु नयाँ बर्ष, दिपावली, होली लगायतका चाडपर्बहरु हरेक बर्ष मनाउदै आएको छ ।