अमेरिकाको टेक्सासमा नेपाली समुदायका अगुवा महिलाहरु सम्मानित

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
अमेरिकाको टेक्सासलाई कर्मथलो बनाएर बिभिन्न पेशा र व्यवसायमा कार्यरत नेपाली समुदायका अगुवा महिलाहरुलाई शनिबार एक कार्यक्रमका बीच सम्मानित गरिएको छ ।
अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर नेपाली समाज टेक्सासको महिला बिभागद्वारा शनिबार आयोजना गरिएको अन्तरकृया कार्यक्रममा अगुवा महिलाहरुलाई नेपाली समुदायलाई दिएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।
टेक्सासको हस्र्ट सिटीको नेपाली रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली समाज टेक्सासको स्थापनाकाल देखि हालसम्मका पदाधिकारी सदस्य ११ जना महिला, टेक्सासमा स्थापना गरिएका नेपाली समुदायका सँस्थाका महिला अध्यक्षहरु ४ जना र गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर युवतीहरु २ जना लाई नेपाली समाज टेक्सासका महिला उपाध्यक्ष डा. बिष्णुमाया उपाध्याय र महिला बिभाग प्रमुख गुन्जन भण्डारीले खादा तथा कदर पत्र दिएर सम्मान गर्नु भएको थियो ।
सम्मानित हुनेहरुमा अगुवा सामाजिक अभियन्ता महिलाहरुमा नेपाली समाज टेक्सासलाई स्थापनाकाल देखि हालसम्म योगदान दिने अर्पना अर्जेल, मन्जिमा शर्मा थापा, सुनिता कार्की, अमरमाया लामा, सुनिता सन्जेल, पुष्पलता भण्डारी, श्रदुला जोशी, मन्नु कोईराला, यमुना भटट्राई, आयुशा ओझा, निर्मला राई तथा नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र टेक्सासकी अध्यक्ष सीता बस्नेत, नेपाल अमेरिका चेम्ब अफ कमर्शका अध्यक्ष स्मृति कार्की, अन्तराष्ट्रिय नेपाली साक्षरता समाजका अध्यक्ष निर्मला राई, मधेशी समाज अमेरिका टेक्सासका अध्यक्ष पिंकी यादव रहेका छन ।
यसै गरि सोही कार्यक्रममा सबै भन्दा लामो समय नृत्य गरे बिश्व रेकर्ड कायम राख्ने बन्दना नेपाल र गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर एलिशा श्रेष्ठलाई पनि खादा तथा कदर पत्रले सम्मानित गरिएको महिला बिभाग प्रमुख गुन्जन भण्डारीले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी टेक्सास राज्यको हाउस अफ रिप्रजेन्टेटिभ टेरी मिजाले नेपाली समुदायले उठाएका सवालको पक्षमा आफ्नो सधैं साथ रहने बताउनु भयो ।
नेपाली समुदायको तर्फबाट तयार गरिएको बिधेयक मध्य एउटा टेक्सास राज्य सँसदले पारित गरिसकेको र अर्को सँसदमा दर्ता भएको उक्त अवसरमा जानकारी दिनु भयो ।
यसैगरि कार्यक्रमका बिशिष्ट अतिथी युलेश सिटीका मेयर लिण्डा मार्टिनले युलेस सिटीमा नेपाली समुदायको बाक्लो बसोवास सँगै नेपाली समुदायका महिलाहरुलाई थुप्रै अवसर पनि रहेको बताईन ।
युलेस सिटी सरकार र काउन्सिलमा नेपाली समुदायका महिलाको प्रतिनिधित्वको अवसर रहेको र त्यसका लागि आफुले सहयोग गर्ने मेयर लिण्डा मार्टिनको भनाई थियो ।
उक्त कार्यक्रममा नेपालका पूर्ब साँसद तथा चर्चित महिला नेतृ डा. बिन्दा पाण्डेले अन्तराष्ट्रिय महिला दिवसको ईतिहास, नेपाली महिला आन्दोलन, महिला सशक्तिकरण लगायतका बिषयमा आफ्नो जानकारीमूलक प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।
नेपाली समाज टेक्सासका महिला उपाध्यक्ष डा. बिष्णुमाया उपाध्यायको अध्यक्षता तथा श्रृष्टि शर्मा उप्रेती र शब्दिता प्याकुरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियन्ता यमुना भट्टराई, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, युलेश सिटी काउन्सिल सदस्य टीका पौडेल लगायतका बक्ताहरुले अन्तराष्ट्रिय महिला दिवसको महत्व र महिलाको पक्षमा गर्नु पर्ने कामको वारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली समाज टेक्सासको महिला बिभाग सँयोजक गुन्जन भण्डारीले कार्यक्रममा स्वागत गर्नुका साथै नेपाली समाज टेक्सास र महिला बिभागले गरेका कामको वारेमा जानकारी गराउनु भएको थियो । सार्थ कार्यक्रममा नेपाली पाठशालाका छात्रा तथा अन्य कलाकारहरुले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.