घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
नयाँ बर्ष २०८० तथा यस बर्षको बिसु पर्बको अवसर पारी टेक्सासमा रहेका सुदूरपश्चिमेलीहरुले ग्रेपभाईनको Trawick Pavilion पार्कमा आईतबार बिसु मिलन कार्यक्रमको आयोजना गरेका छन । टेक्सासमा बिभिन्न स्थानमा रहेको सुदूरपश्चिमेलीहरुलाई एकै स्थानमा जम्मा गराएर शुभकामना आदान प्रदान गर्ने उद्देश्यले बिसु मिलन कार्यक्रमको आयोजना गरिएको सुदूरपश्चिम नेपाली समाज टेक्सासका महासचिब गोविन्द शाहीले बताउनु भयो ।
महासचिब शाहीका अनुसार बिसु पर्ब नयाँ बर्षको दिन बैशाख १ गते मनाईने भएपनि सबैको समय अनुकुल मिलाएर आईतबार बिसु मिलन कार्यक्रम आयोजना गरिएको हो । टेक्सासका बिभिन्न स्थानबाट एकसय भन्दा बढी सुदूरपश्चिमेलीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा शुभकामना आदान प्रदान, बनभोज कार्यक्रम, टेक्सासमा अगुवा सुदूरपश्चिमेलीहरुलाई सम्मान कार्यक्रम तथा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष नवराज नाथ योगीको अध्यक्षता तथा टेकेन्द्रप्रसाद भट्टको सन्चालनमा सम्पन्न बिसु मिलन कार्यक्रममा समाजका सँस्थापक अध्यक्ष भक्त भण्डारी, पूर्ब अध्यक्ष प्रेमबहादुर शाही तथा टेक्सासका बिभिन्न पेशा व्यवसायमा रहेका अगुवा सुदूरपश्चिमेलीहरु गगन केसी, भोजबहादुर बलायर, सतिष ओझा, पुस्कर पाठक, हरिष उपाध्याय, दिपेन्द्र जोशी, पदम ठकुराठी, मकर स्वार, भैरवबहादुर शाही, गुन्जन भण्डारी, प्रकाश भट्ट, मिरा भट्टलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
यसै गरि सोही अवसरमा समाजमा आबद्ध युवा स्वयंसेवकहरु सन्देश थापा, लता भट्ट र प्रनिसा शाहीलाई पनि कदर पत्र सहित सम्मान गरिएको थियो ।
समाजका उपाध्यक्ष प्रकाश भट्टले स्वागत मन्तब्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा सँस्थापक अध्यक्ष भक्त भण्डारी, पूर्ब अध्यक्ष प्रेम शाही, समाजसेवी बिबेक रावल, चन्द्रकान्त उपाध्याय, मिरा भट्ट, युवा स्वयंसेवक लता भट्टले शुभकामना मन्तब्य दिनु भएको थियो । बिसु मिलन कार्यक्रममा सुदूरपश्चिमेलीहरुले डेउडा खेलेर रमाईलो गरेका थिए ।