अमेरिका र नेपाल बिचको कुटनैतिक सम्बन्ध सुदृढ छ ः अन्जली कौर, उप सहायक प्रशासक युएसएआईडी

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
युएसएआईडीका एशिया क्षेत्र हेर्ने उप सहायक प्रशासक अन्जली कौरले अमेरिका र नेपाल बिचको कुटनैतिक सम्बन्ध सफल र सुदृढ रहेको धारणा व्यक्त गर्नु भएको छ ।
अमेरिका नेपाल कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ बर्ष पूरा भएको अवसरमा टेक्सासको युलेशमा आयोजना गरिएको बिशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथी कौरले दुई देश बिचको सफल कुटनैतिक सम्बन्धका कारण नेपालमा युएसएआईडीको सहयोग निरन्तर रहेको र आफुहरुले लोकतन्त्र र सुशासनको क्षेत्रमा अझै सहयोग गर्न चाहेको बताउनु भयो ।
उप सहायक प्रशासक कौरले हामीले नेपालको बिकासमा उपलब्ध गराउदै आएको कतिपय सहयोगका विषयमा गलत सूचना प्रवाह गरिएकोमा दुःख ब्यक्त गर्दै आगामी दिनमा ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्रको कार्यक्रमलाई प्राथमिकता दिईने बताउनु भयो ।
भविष्यमा जलवायु परिबर्तन, विपदका व्यवस्थापन क्षेत्रमा काम गर्न सकिने तथा निजी क्षेत्रसँग साझेदारी गर्न सकिने सँभावना रहेको कौरको भनाई थियो ।


नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा दिनेश शर्माको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अमेरिकाका लागि नेपालका राजदूत डा. श्रीधर खत्रीले नेपालको बिविध क्षेत्रमा प्राप्त भएको अमेरिकी सहयोग प्रशँसनिय रहेकाले कुटनैतिक सम्बन्धलाई थप सुदृढ बनाउदै लैजानु पर्ने बताउनु भयो ।
राजदूत खत्रीले युएसएआईडी नेपालको चौथो बिकास साझेदार सँस्था भएकाले भौतिक पूर्बाधार, आर्थिक तथा सामाजिक लगायतका क्षेत्रमा युएसएआईडीको निरन्तर सहयोगको खाँचो रहेको बिचार ब्यक्त गर्नु भयो । गैरआवासिय नेपालीहरु नेपालको बिकासका प्रमुख श्रोत भएको धारणा ब्यक्त गर्दै राजदूत खत्रीले नेपालको उर्जा, स्वास्थ्य तथा सूचना प्रबिधि क्षेत्रमा लगानी गर्न नेपाली समुदायलाई आग्रह गर्नु भयो ।
उक्त उत्सब कार्यक्रममा टेक्सास हाउस अफ रिप्रजेन्टेटिभ सुलेमान ललानी र सलमान भोजानी, ह्युस्टन नेपाली समाजको तर्फबाट सुजन पण्डित, युलेश सिट काउन्सिल सदस्य टीका पौडेलले अमेरिका नेपाल कुटनैतिक सम्बन्धको वारेमा आ आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
यसैगरि सोही समारोहमा नेपाली समुदायको तर्फबाट डा. उत्तम गौलीले नेपालमा उच्च शिक्षाको बिषयमा, नेपाली समाज टेक्सासका महसचिब सन्देश उप्रेती र सचिब हरी खनालले समाजका गतिबिधिहरुका बारेमा, प्रभात दिक्षितले नेपाल अमेरिका कुटनैतिक सम्बन्धको ७५ बर्ष बिषयमा र नारायण श्रेष्ठले सोही बिषयमा क्लोराडो राज्यका नेपाली समुदायले आयोजना गर्न लागेको कार्यक्रममा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा बिबिध नेपाली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । उक्त अवसरमा राजदूत खत्रीले युलेश स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा गई दर्शन गर्नुका साथै नेपाली समुदायसँग अन्तरकृया गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.