घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
गैर आवासीय नेपाली सँघ अमेरिकाको नयाँ नेतृत्व (सन २०२३–२५) चयन गर्न आगामी जूलाई महिनाको १६ र १७ गते निर्बाचन हुने भएको छ । एनआरएनए अमेरिकाका प्रमुख निर्बाचन आयुक्त बासु फुलाराले एक बिज्ञप्ती मार्फत निर्बाचन हुने मिति तथा निर्बाचनको कार्यक्रम तालिका सार्बजनिक गरेका छन ।
एनआरएनए अमेरिकाको नेतृत्वको लागि निर्बाचनको मिति घोषणा भएसँगै चुनाबको रौनक बढ्न थालेको छ । नेतृत्वका आकाँक्षीहरु बिभिन्न राज्यमा रहेका मतदाताहरुका बीचमा भेटघाट र छलफल र अन्तरकृयालाई तिब्र बनाएका छन ।
नयाँ नेतृत्वको लागि हालसम्म सँघका पूर्ब बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे र बर्तमान कार्य समितिका उपाध्यक्ष दिलु पराजुलीले सामाजिक सन्जाल मार्फत उम्मेदवारी घोषणा गरेका छन । तर बर्तमान कार्य समितिका अर्का उपाध्यक्ष सुमन थापाले पनि आफु नयाँ नेतृत्वको लागि बलियो आकाँक्षी रकेको सँकेत सामाजिक सन्जाल मार्फत गरिसकेका छन ।
अध्यक्षका आकाँक्षीहरु मध्य बन्जाडेले जून ११ तारेखमा टेक्सासको अर्भिङको एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो टीमको घोषणा गर्ने तयारी गरेका छन भने अर्का आकाँक्षी दिलु पराजुलीले जून १० तारेखमा केन्टकीमा औपचारिक कार्यक्रम मार्फत उम्मेदवारी घोषणा गर्ने बताईएको छ ।
उता बर्तमान कार्य समितिका उपाध्यक्ष दिलु पराजुली र सुमन थापा बीचमा सहमती गराई एक जना अध्यक्षको उम्मेदवार बनाउने प्रयास भईरहेको बुझिएको छ । सहमतीको प्रयास सफल नभएमा सुमन थापाले पनि आफ्नो टीम घोषणा गर्ने प्राय निश्चित छ ।
गैर आवासीय नेपाली सँघको सदस्यता वितरण र निर्बाचन प्रणाली बिगतको भन्दा फरक रहेका कारण निर्बाचनको परिणामको वारेमा सहज रुपमा अनुमान गर्न सकिने अवस्था रहेको एनआरएनए अमेरिकाका अगुवाहरु बताउछन ।