एनआरएनए अमेरिकाको निर्बाचन ः बन्जाडे र पराजुली समूहद्वारा टीम सहित उम्मेदवारी घोषणा

घण्टेश्वर अनलाईन
टेक्सास, अमेरिका
आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्बाचन (सन् २०२३÷२५ ) को लागि टेक्सासका डा. अर्जुन बन्जाडे र केन्टकीका दिलु पराजुलीले छुट्टा छुट्टै टीम निर्माण गरेर औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन ।
आउँदो दुई वर्षको नेतृत्वको लागि हुन गईरहेको एनआरएनए अमेरिकाको निर्बाचनको लागि टेक्ससका डा. अर्जुन बञ्जाडेले आईतबार ड्यालसको अर्भिङबाट र अर्का उम्मेदवार दिलु पराजुलीले शनिबार केन्टकीमा आफ्ना समर्थक तथा शुभचिन्तकको बाक्लो उपस्थितीका बीचमा उम्मेदवारी घोषणा गरेका हुन ।
सँस्थाको बिग्रिएको छवी सुधार गर्ने मुख्य एजेन्डा ः डा. बन्जाडे
ड्यालसको अर्भिङ स्थित करि लिफ रेष्टुरेन्टको सभाकक्षमा आईतबार बेलुकी आयोजना गरिएको एक कार्यक्रमका बीचमा औपचारिक रुपमा टीम घोषणा गर्दै डा. अर्जुन बन्जाडेले असक्षम नेतृत्वका कारण बिग्रिएको गैरआवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषदको छबिलाई सुधार गर्ने मुख्य एजेण्डा रहेको बताए ।
एक पटकको नेपाली, सधैंको नेपाली, नेपालीको लागि नेपाली भन्ने मूल उद्देश्यका साथ स्थापना भएको गैरआवासिय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद अमेरिका न हाम्रो बन्न सक्यो, न राम्रो बन्न सक्यो । यो सँस्थालाई राम्रो र हाम्रो बनाउने आफ्नो टीमको योजना रहेको डा. बन्जाडेले घोषणा गरे ।
अघिल्लो पटकको अध्यक्षका प्रत्यासी समेत रहेका डा. बन्जाडेले आफु सँस्थाको बिभिन्न पदमा रहि सन २०१७ देखि काम गरेको अनुभव रहेको बताउदै अमेरिकामा रहेका बिभिन्न क्षेत्रमा कार्यरत नेपाली समुदायका बिज्ञहरुको बिज्ञता, दक्षतालाई नेपाली समुदायको हितमा प्रयोग गर्न चाहेको जानकारी दिनु भयो । आफुले कुरा भन्दा पनि काम गरेर देखाउन चाहेका बन्जाडेको भनाई थियो ।
एनआरएनए अमेरिकाका बर्तमान बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्तको अध्यक्षतामा अध्यक्षता तथा बेदराज बस्नेतको सन्चालनमा सम्पन्न घोषणा कार्यक्रममा बोल्ने बक्ताहरुले पनि बर्तमान नेतृत्वका कारण फाटेको नेपाली समुदायको मनलाई डा. बन्जाडे नेतृत्वको टीमले जोड्न सक्ने दावी गरेका थिए ।
कार्यक्रममा एनआरएनए आईसिसिका महासचिब गौरीराज जोशी, डा. राजन पन्त, युलेस सिटी काउन्सिल सदस्य टीका पौडेल, एनआरएनका उपाध्यक्ष सुमन थापा, बेदराज बस्नेत, विजयराज भट्टराई, उमा कार्की, जनक भण्डारी, नबिना लामा, विनोद तिवारी, टेक्सास च्याप्टरका अध्यक्ष सोफिन थापा लगायतले एनआरएनए अमेरिकाको बर्तमान अवस्थाको वारेमा आफ्नो धारणा राखेका थिए । बोल्ने बक्ताहरुले एनआरएनए अमेरिकाको निर्बाचनलाई सर्बसहमत बनाउनु पर्ने कुरामा जोड दिदै सर्बसहमत नेतृत्व चयन हुने अवस्था आए सबैले त्याग गर्न सक्नु पर्ने कुरामा जोड दिएका थिए । बन्जाडे समूहले बरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती, उपाध्यक्षहरुमा प्रेम तामाङ, नेत्र पाण्डे, ज्ञानेन्द्र गुरुङ, महिला उपाध्यक्षमा सुनिता कँडेल, युवा उपाध्यक्षमा रामचन्द्र पन्त, महासचिबमा गोपेन्द्र भट्टराई, सचिबमा दिपक सापकोटा, महिला सचिबमा शान्ति पौडेल, सह कोषाध्यक्षमा दिवाकर पाण्डे लगायतलाई अघि सारेको छ ।
डा. बन्जाडे समूह र थापा एउटै मन्चमा
एनआरएनए अमेरिकाको आसन्न निर्बाचनको लागि जोड घटाउ र समिकरण निर्माणको अभियान शुरु भएको छ । आफ्नो पक्षमा माहोल बनाउन र समर्थन जुटाउन दुबै पक्ष लागिरहेका छन । अहिलेसम्म डा. अर्जुन बन्जाडे र दिलु पराजुलीको टीमले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेको छ । निर्बाचनको दौडमा रहेका एनआरएनए अमेरिकाका बर्तमान उपाध्यक्ष सुमन थापापनि आफ्नो छुट्टै टीम घोषणा गर्न लागेको चर्चा थियो ।
तर थापा एक्कासी आईतबार डा.बन्जाडेको उम्मेदवारी घोषणा कार्यक्रममा मन्चमा देखिए । कार्यक्रममा डा. बन्जाडेलाई शुभकामना दिदै थापाले आफु एनआरएनए बिभाजन होईन एकताको पक्षमा रहेको जिकिर गर्दै सहमतीको बिपक्षमा नरहेको धारणा ब्यक्त गरे । उपाध्यक्ष थापाले खुलेरै घोषणा नगरेपनि सहमतीको वातावरण निर्माण हुने हो भने आफ्नो डा बन्जाडेको टीमलाई समर्थन रहन सक्ने सँकेत थियो । कार्यक्रममा बोल्दै एनआरएनए आईसिसिका महासचिब गौरीराज जोशीले पनि मन्तब्यका क्रममा डा. बन्जाडे र थापाको टीमलाई एउटै बनाउने गरि घनिभूत छलफल भईरहेको जानकारी दिएका थिए । तर थापाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा सहित चुनावी अभियान शुरु गरिसकेका छन । उनले औपचारिक रुपमा टीम घोषणा गरिसकेका छैनन ।
बँशजको आधारमा दिईएको नागरिकताको निरन्तरता आफ्नो प्रमुख एजेन्डा ः दिलु पराजुली
एनआरएनएन अमेरिकाको निर्बाचन (२०२३–२५) को लागि नेतृत्वको दौडमा रहेका दिलु पराजुलीले पनि शनिबार केन्टकीमा एक कार्यक्रमका बीचमा औपचारिक रुपमा टीम सहित उम्मेदवारी घोषणा गरेका छन । उनले एनआरएनए अमेरिकाको सुधारको लागि आफुसँग बिभिन्न योजना रहेको र बँशजको आधारमा दिईएको नागरिकताको निरन्तरता आफ्नो पहिलो एजेन्डा रहेको बताउनु भयो ।
आफ्ना समर्थक तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितीमा उम्मेदवारी घोषणा गर्दै अध्यक्षका उम्मेदवार दिलु पराजुलीले एनआरएन अमेरिकालाई सुधार गर्नका लागि २१ बुँदे घोषणा पत्र समेत सार्बजनिक गरेका थिए । आफुसँग बर्तमान मात्र होईन भावी सन्ततीको लागि पनि योजना रहेको बताउदै त्यसका लागि आफुसँग योग्य, सक्षम र बलियो टीम रहेको समेत दावी गरे ।
एकपटकको नेपाली सधैंको नेपाली भएकाले राज्यले गैरआवासिय नेपालीलाई दोश्रो दर्जाको नागरिकको व्यवहार गर्न नहुने पराजुलीको भनाई थियो । आफुले गफ भन्दा काममा बिश्वास गर्ने बताउदै पराजुलीले सँस्थालाई गैरआवासिय नेपालीको नेतृत्वदायी अभिभावक सँस्था र साझा थलोको रुपमा बिकास गरेर देखाउने बताउनु भयो ।
गैरआवासिय नेपाली सँघ अमेरिकाको (सन २०२३–२५) को लागि आगामी जुलाई १६ र १७ तारेखमा निर्बाचन हुँदैछ ।

Leave A Reply

Your email address will not be published.