घण्टेश्वर अनलाईन
क्यालिफोर्निया अमेरिका
अमेरिकाको क्यालिफोर्निया राज्य स्थित लस एन्जल्स शहरमा बसोवास गर्ने नेपाली समुदायले शिव महापुराण कार्यक्रम आयोजना गर्ने भएका छन ।
लस एन्जल्समा रहेको पशुपतिनाथ फाउण्डेशनको अगुवाइ तथा नेपाली समुदायका बिभिन्न सामाजिक सँस्थाहरुको सहकार्यमा आगामी जुलाई ९ देखि १५ सम्म पशुपतिनाथ तथा बुद्व मन्दिरमा शिव महापुराण आयोजना हुने भएको हो ।
नेपाली समुदायको धर्म सँस्कृतिको सँरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको शिव महापुराण कार्यक्रममा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्ने कार्यक्रम रहेको पशुपति नाथ फाउण्डेशनका अध्यक्ष रामेश्वर भण्डारीले जानकारी दिनु भयो ।
अध्यक्ष भण्डारीका अनुसार शिब महापुराण कार्यक्रमको अर्को उद्देश्य भनेको लस एन्जल्स शहरमो सामुदायिक भवन निर्माणको लागि सहयोग सँकलन गर्ने पनि रहेको छ । महापुराण आयोजनाका लागि फाउण्डेशनका निवर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको संयोजकत्वमा एक मूल समारोह समिति तथा अग्रज व्यक्तित्व बेदभक्त जोशी तथा नेपाल सरकारका अवैतनिक महावाणिज्यदुत ऋषि ढकाल रहेको सल्लाहकार समिति बनाईएको छ ।
लस एन्जल्स आध्यात्मिक महोत्सव समेत नाम दिईएको उक्त महापुराणको तयारी तिव्र गतिमा अघि बढेको पशुपतिनाथ फाउण्डेशनका सचिव डिल्ली( सिद्दार्थ ) सिलवालले जानकारी दिनु भयो ।
पशुपति नाथ तथा बुद्ध मन्दिरमा नियमित पुजाआजाका साथै धार्मिक तथा सांस्कृतिक महत्वका कार्यक्रमहरु आयोजना हुनुका साथै हरेक आईतवार नेपाली भाष पाठशाला समेत संचालन हुँदै आएको छ ।