घण्टेश्वर अनलाईन
काठमाण्डौं
भारतले अनुदानस्वरूप दिएको मुर्रा राँगा लिन प्रकृया थालिएको छ । मुर्रा राँगा ल्याउनको लागि पशु विभागको टोली यसै साता भारत जाने भएको छ ।
भरताबाट मुर्रा राँगा ल्याउन प्रकृया अगाडी बढाउन पशुसेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान र क्वारेन्टिन शाखाका प्रमुख भारत जाने पशु विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताउनु भयो ।
प्रबक्ता ढकालका अनुसार ‘भारतले सीमानाकासम्म ल्याइदिने र त्यहाँबाट नेपाली टोलीले ल्याउने गरी प्रक्रिया अघि बढेको छ ।’ अनुदानस्वरूप दिइने १५ वटा राँगालाई एकैपटक ल्याइने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले १७ जेठदेखि २० गतेसम्म भारत भ्रमणका क्रममा नेपाली मुर्रा राँगा उपलब्ध गराउने सहमति भएको थियो ।
उक्त उन्नत जातका राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख ५० हजार डोज वीर्य उत्पादन गरी एक लाख भैँसीमा कृत्तिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादन बढाउने सरकारको नीति रहेको छ ।