घण्टेश्वर अनलाईन
सानफ्रान्सिस्को, क्यालिफोर्निया
अमेरिकाको क्यालिफोर्निया राज्य स्थित सानफ्रान्सिस्कोमा नेपाल महोत्सबको आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ, क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाती महासंघ, क्यालिफोर्निया लगायत क्यालिफोर्नियामा सकृय संघ संस्थाहरुद्वारा अप्रिल १४ मा नेपाल महोत्सब (नेपाल डे परेड) आयोजना गर्न लागिएको हो ।
नेपाल महोत्सब (नेपाल डे परेड) को दिन अप्रिल १४ मा क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा बिभिन्न झाँकी सहितको परेड प्रदर्शन, बिभिन्न साँस्कृतिक कार्यक्रम, नेपाली कला सँस्कृति तथा पर्यटकीय स्थलको जानकारीमूलक सामग्रीको प्रदर्शन लगायतका कार्यक्रम आयोजना गरिने छन ।
विदेशमा नेपाल चिनाउने उद्देश्यले नेपाल महोत्सब आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले जनाएको छ । नेपाल महोत्सब (नेपाल डे परेड) को तयारी तिब्र रुपमा भईरहेको छ । नेपाल महोत्सब (नेपाल डे परेड) ले नेपाली भाषा, कला सँस्कृतिको प्रचार प्रसार तथा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको गैरआवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरी ओझाले बताए ।
नेपाल महोत्सब (नेपाल डे परेड) को सन्दर्भमा अप्रिल १२ र १३ तारेखमा भलिवल प्रतियोगिता समेत आयोजना गरिने भएको छ । भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगद सहित पुरस्कारको व्यवस्था गरिएको कन्भेनर तथा जनजाती महासंघ,क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले जानकारी दिएका छन । भलिवल प्रतियोगितामा सहभागि हुने टीमको लागि दर्ता शुल्क ५ सय डलर तोकिएको छ ।
क्यालिफोर्निया राज्यका प्रमुख शहरमा हरेक बर्ष नेपाली नयाँ बर्षको अवसर पारी नेपाल महोत्सब (नेपाल डे परेड) को आयोजना हुँदै आएको छ ।