घण्टेश्वर अनलाईन
अस्टिन टेक्सास
अमेरिकाको टेक्सास राज्यको राजधानी तथा प्रमुख शहर अस्टिनमा रहेका नेपाली समुदायले यस बर्षको होली विविध कार्यक्रमको आयोजना गरि मनाउने भएका छन । बिगतका बर्षमा कोरोना महामारीका कारण नेपाली समुदायले नेपाली चाडपर्बहरु उल्लासपूर्बक रुपमा मनाउन नपाएपनि कोरोनाको प्रभाव विस्तारै कम हुन थालेपछि होली पर्ब मनाउन लागिएको ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको अगुवाईमा हुन लागेको होली कार्यक्रम यहि मार्च १९, २०२२ शनिबार दिउसो २ बजेदेखि बेलुकी ८ बजे सम्म सन्चालन हुनेछ । रँगको पर्ब होली भएकाले नेपाली समुदायहरु एकै स्थानमा जम्मा भएर एक आपसमा रँग खेलेर शुभकामना आदान प्रदान गर्ने, बिविध साँस्कृतिक कार्यक्रम, बालबालिकाका लागि समेत रमाईलो कार्यक्रमको प्रबन्ध गर्नुका साथै नेपाली खानाका परिकारहरुको प्रदर्शन गरिने ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष भोजराज भट्टले जानकारी दिनु भयो ।
अमेरिकामा जन्मेका र यतै हुर्किएका दोश्रो पुस्ताहरु नेपाली भाषा तथा धर्म सँस्कृतिबाट टाढा रहेको अवस्था रहेको छ । होली लगायत नेपाली चाडपर्बहरु, बिबिध साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दा उनीहरु भाषा तथा सँस्कृतिसँग परिचित हुने सहयोग पुग्दछ । त्यसैले नेपाली समुदायले प्राथमिकताका साथ यो कार्यक्रम विशुद्ध रुपमा पारिवारिक जमघट र मनोरञ्जनका लागि आयोजना गरिएको अध्यक्ष भट्टले बताउनु भयो ।
फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेल्ने गरिए पनि विशेषगरी नेपालको पहाडी क्षेत्रमा फागुन पूर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ । अमेरिका लगायत बिदेशमा होलीकै दिन सार्बजनिक बिदा नहुने भएकाले अघि वा पछिको शनिबार तथा आइतबार विदाको दिन पारेर होली पर्ब मनाउने गरिएको छ ।
ग्रेटर अस्टिन नेपाली समाजको सामुदायिक केन्द्र भवन ( 1251 Co Rd 138, Hutto, TX 78634) मा आयोजना गरिने होली कार्यक्रममा सहभागिताका लागि अस्टिनमा रहेका बिभिन्न सामुदायिक संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ताहरु, व्यवसायी, पत्रकार, नेपालीको संस्कृतिप्रति आस्था र चासो राख्ने ब्यक्तिहरु, नेपाली समुदायका बुबा–आमा, दाजु–भाइ, दिदी–बहिनीहरुमा अनुरोध गरेको छ ।
यसै गरि सुदूरपश्चिम नेपाली समाज टेक्सास र न्यूयोर्कले पनि सोहि दिन बिबिध कार्यक्रमको आयोजना गरि होली पर्ब मनाउने जनाएका छन ।