डोटी सायलकी ९० बर्षिय जेष्ठ महिलालाई घरमै नेपाली नागरिकता प्रदान

घण्टेश्वर अनलाईन
सिलगढी
डोटी सायल गाउँ पालिकाकी एक जेष्ठ महिलालाई घरमै नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको छ । शारीरिक रुपमा अशक्त डोटी सायल गाउँ पालिका वडा नं. २ सिर्माकी ९० बर्षिय कलसी थापा (ओली)लाई घरमै नेपाली नागरिकताको स्थायी प्रमाण पत्र उपलब्ध गराईएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
शारीरिक रुपमा अशक्त तथा वृद्ध अवस्था भएका कारण कार्यालयमा आएर नेपाली नागरिकता लिन अवस्था नभएकाले बिशेष सुबिधा अन्तरगत कलसी थापा(ओली)लाई घरमै पुगेर नेपाली नागरिकताको स्थायी प्रमाण पत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनु भयो ।
सायल गाउँ पालिकाका उपाध्यक्ष निर्मला ओली, वडा अध्यक्ष मानबहादुर सिंह लगायत स्थानीयको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय डोटीका नायब सुब्बा लालबहादुर बोगटीले बुधबार कलसी थापा (ओली)को घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका थिए ।
करिब २ बर्षको प्रयास पछि कलसी थापा(ओली)लाई घरमै नेपाली नागरिकताको स्थायी प्रमाण पत्र उपलब्ध गराउन सफल भएको सायलका समाजसेवी तेज डुमरेलले बताए । हजुर आमाको शारीरिक अवस्था कमजोर र र बृद्ध अवस्थाका कारण आफै जिल्ला प्रशासन कार्यालय पुगेर नेपाली नागरिकताको प्रमाण पत्र लिन सक्ने अवस्था थिएन ।हजुर आमाले घरमै नेपाली नागरिकताको प्रमाण पत्र पाएपछि नाती राम बहादुर ओलीले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

Leave A Reply

Your email address will not be published.