घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
नेपाली काँग्रेस डोटीले जिल्ला स्तरीय बस्ती भेटघाट तथा कार्यकर्ता प्रशिक्षण अभियान शुरु गरेको छ । उक्त अभियान पहिलो चरणमा चैत्र २० देखि शुरु भई चैत्र २८ सम्म सन्चालन हुने नेपाली काँग्रेस डोटीले जनाएको छ ।
यो कार्यक्रम जनतासँग नेपाली काँग्रेस अभियानको निरन्तरता हो । यो अभियान निरन्तर जारी रहने छ । अभियानमा जिल्ला स्तरका पार्टी नेता कार्यकर्ता तथा भातृ सँगठनहरु परिचालन हुने जिल्ला पार्टी सभापति नरेन्द्रबहादुर सिंहले बताउनु भयो ।
सभापति सिंहका अनुसार अभियानका क्रममा कार्यकर्ता प्रशिक्षण, जनताका बीचमा नेपाली काँग्रेसका दृष्टिकोण, जनताका धारणा सुन्ने, नेपाली काँग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरुले स्थानीय तहमा गरेका कामहरुको बारेमा जानकारी लिने, जनताको धारणा बुझ्ने लगायतका काम हुने छन ।
अभियानको लागि नेपाली काँग्रेसले पूर्बीचौकी गाउँपालिकामा सभापति नरेन्द्र बहादुर सिंह, दिपायल सिलगढी नगरपालिकामा महासमिति सदस्य लक्ष्मण बहादुर सिंह, सायल गाउँपालिकामा महासमिति सदस्य जीतबहादुर खड्का, आदर्श गाउँपालिकामा पूर्व सांसद यज्ञराज पाठक, शिखर नगरपालिकामा पार्टी सचिब नारायण बलायर, के.आई.सिंह गाउँपालिकामा पार्टी उपसभापति नारायण जोशी, बोगटान फुड्सिल गाउँपालिकामा महासमिति सदस्य सिताराम जोशी, बडीकेदार गाउँपालिकामा संबिधानसभा सदस्य तथा पूर्ब प्रदेश सांसद भरत बहादुर खड्का र जोरायल गाउँपालिकामा महासमिति सदस्य धौलीदेवी रावलको नेतृत्वमा टोली परिचालन भएको छ ।