घण्टेश्वर अनलाईन
काठमाण्डौं
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा १० देखि १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो । बिहीबार यातायात मन्त्री रेणुकुमारी यादवले व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा समायोजनको निर्णय गरेकी हुन् ।
पछिल्लो समय इन्धनको मूल्य बढ्दै गएपनि भाडा दर बृद्धि नभएकाले ब्यवसायीहरुले सरकारलाई दवाव दिदै आएका थिए । सरकारले भाडा नबढाए आफैं भाडादर कायम गर्ने ब्यवसायीहरुले चेतावनी दिदै आएका थिए ।
मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । घिमिरेका अनुसार सूची सार्वजनिक भएपछि मात्र भाडा लागू हुनेछ ।
उनका अनुसार रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने छ । तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने अहिले नबढ्ने उनको भनाइ छ ।
उनका अनुसार यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोहीअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय भएको पनि मन्त्रालयले जनाएको छ । रुस–युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ।