घण्टेश्वर अनलाईन
दिपायल
डोटी जिल्लाका करिब ७६ हजार वालवालिकालाई पहिलो पटक टाइफाइड बिरुद्धको खोप दिईने भएको छ । जिल्लाका ४ सय ७६ बिद्यालय र स्वास्थ्य सँस्थाहरुमा खोप केन्द्र स्थापना गरेर ७६ बालबालिकालाई टाईफाइड बिरुद्धको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाको २ गते देखि बैशाख १८ गते सम्म टाईफाईड बिरुद्ध देशब्यापी खोप अभियान सन्चालन गर्दैछ । तर डोटी जिल्लामा तोकिएको समयमा ५ दिन सम्म जिल्ला व्यापी खोप अभियान सन्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय डोटीका खोप सँयोजक सूर्य बिष्टले जानकारी दिनु भयो । अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिईने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
नेपालमा टाइफाइडविरुद्ध पहिलो पटक खोप लगाउने तयारी भएको छ । टाइफाइडविरुद्धको खोप राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ । अबदेखि जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइने जिल्ल स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताउनु भयो ।
टाईफाइड बिरुद्धको राष्ट्रिय खोप कार्यक्रमलाई डोटी जिल्लामा प्रभावकारी रुपमा सन्चालन गर्न जिल्लाका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई जानकारी तथा योजना तर्जुमा गरिने भएको छ । यसै सन्दर्भमा पहिलो चरणमा आयोजना गरिएको दुईदिने जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्टि शुक्रबार देखि दिपायलको राजपुरमा शुरु भएको छ ।
उक्त कार्यक्रममा बोगटान फुड्सिल, सायल, बडीकेदार, पूर्वीचौकी, केआईसिंह गाउँपालिका गरी पाँच वटा स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । बाँकी ४ वटा स्थानीय तहका स्वास्थ्यकर्मीहरुको लागि दोस्रो चरणमा कार्यक्रम आयोजना गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा खोप अभियानलाई सफल बनाउनको लागि जिल्लाका अन्य सरोकारवालासँग पनि समन्वय तथा अन्तरकृया गरिने स्वाथ्य कार्यालय प्रमुख जोशीले बताउनु भयो ।