घण्टेश्वर अनलाईन
दिपायल
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश स्वास्थ्य बिभागद्धारा डोटीको शिखर नगरपालिका र आदर्श गाउँपालिकामा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिबिरमा सयौं स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन ।
नेपाली काँग्रेस, सुदूरपश्चिम समिति अन्तरगतको प्रदेश स्वास्थ्य बिभागले घर घर जाऔँ काँग्रेस जिताऔँ अभियान अन्तरगत डोटीको शिखर नगर पालिकाको गोपघाटमा चैत्र १९ गते र आदर्श गाउँपालिकाको मौवाका चैत्र २० गते नि:शुल्क स्वास्थ्य शिबिर आयोजना गरेको नेपाली काँग्रेस डोटीका युवा नेता दिपेन्द्र सिंहले जानकारी दिनु भयो ।
नेता सिंहका अनुसार शिखर नगरपालिकामा ४ सय बढी र आदर्श गाउँपालिकामा ६ सय बढीले स्वास्थ्य शिबिरबाट सेवा लिएका थिए । शिबिरमा पेट दुख्ने, पित्तथैलीमा पत्थरी, किड्नीमा पत्थरी, आन्द्रा सम्बन्धी, गाँठा गुठी, क्यान्सर सम्बन्धी, आङ खस्ने समस्या सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । शिबिरमा डा. मेराज आलम अन्सारी, डा. ओमकार विष्ट, डा. अनिल खड्का र सरस्वती राना लगायतको चिकित्सकको बिशेषज्ञ टोली सँलग्न रहेको थियो ।
डा. मेराज आलम अन्सारीको सभापतित्वमा भएको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति वीर बहादुर बलायरले नेपाली काँग्रेसले राजनीतिलाई सेवाको रुपमा लिएकाले आफुहरु जनताको बिचमा सेवा सहित आएको बताउनु भयो । शिबिर कार्यक्रममा नेपाली काँग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंह लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।