घण्टेश्वर अनलाईन
सिलगढी
डोटी जिल्लाका स्वास्थ्य सँस्थाहरुबाट चालु आर्थिक बर्षमा ८ सय ४३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन । यो तथ्याँक ११ महिनाको भएपनि अषाढ मसान्तसम्म यो सँख्या बढ्न सक्ने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
स्वास्थ्य कार्यालय डोटीले आईतबार आयोजना गरेको सन्चारकर्मीहरुसँगको अन्तरकृया कार्यक्रममा दिईएको जानकारी अनुसार सुरक्षित गर्भपतन गराउनेमा ७ सय ९२ जना महिलाहरु २० बर्ष भन्दा माथी र ५१ जना २० बर्ष भन्दा मूनिको रहेका छन ।
स्वास्थ्य कार्यालय डोटीको तथ्याँक अनुसार आर्थिक बर्ष २०७७/७८ मा १ हजार ४८ जना र आर्थिक बर्ष २०७६/७७ मा ९ सय ८१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए ।
डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवाको लागि २१ ओटा स्वास्थ्य संस्थाहरुलाई सूचिकृत गरिएको छ । जसमा जिल्ला अस्पताल डोटीमा औजारको माध्यमबाट र अन्य संस्थामा औषधीको माध्यमबाट गर्भपतन सेवा प्रदान भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए ।