घण्टेश्वर अनलाईन
सिलगढी डोटी
सुदूरपश्चिम प्रदेशको डोटी र डडेल्धुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ ।
डोटी र डडेल्धुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नु अघि सबै स्थानीय तहलाई पूर्ण खोप र दिगोपना सुनिश्चित गरि घोषणा गरिएको थियो ।
डोटी जिल्लालाई सोमबार एक कार्यक्रमका बिचमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले पूर्ण खोप सुनिश्चित जिल्लाका घोषणा गर्नु भयो ।
डोटीका जम्मा ३ हजार ८६ बालबालिकालाई पूर्ण खोपको सुनिश्चितता गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिनु भयो ।
डोटीका २ सय ४८ वटा खोप केन्द्रबाट वालवालिकालाई खोप दिइने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सहयोग गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी सँस्थाहरु, महिला स्वास्थ्य स्वयँसेविका, स्वास्थ्यकर्मी र ९ वटै स्थानीय तहलाई सम्मान गरिएको छ ।
यसै गरि डडेल्धुरा जिल्लालाई आईतबार एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । आईतबार डडेल्धुरा जिल्लामा आयोजना गरिएको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री गोबिन्द वोहराले डडेल्धुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नु भएको थियो ।
जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सात वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो। पालिकाले पूर्णखोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए,नपाएको अनुगमन समेत गरिएको थियो ।
यस्तै डडेल्धुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न भूमिका निर्वाह गरेको भन्दै कार्यक्रममा जिल्लाका स्वास्थ्य स्वयमसेवीका, स्वास्थ्यकर्मी र सात वटै स्थानीय तहलाई सम्मान पनि गरिएको छ । जिल्लाका सात स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनु भयो ।