घण्टेश्वर अनलाईन
सिलगढी
उच्च रक्तश्राबका कारण जिल्ला अस्पताल डोटीमा एकजना सुत्केरी महिलाको मृत्यु भएको छ ।
सुत्केरी हुनका लागि जिल्ला अस्पतालमा भर्ना भएकी डोटी आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको अत्यधिक रक्तश्राबका कारण बुधबार बेलुकी मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । उनी स्वास्थ्य चौकी गिरिचौकामा अनमी पदमा कार्यरत थिईन ।
सुत्केरी हुने समय एक महिना पछि भएपनि पेटमा बच्चा चल्न छोडेपछि स्वास्थ्य परीक्षण गर्न जानकी जिल्ला अस्पताल डोटी आएकी थिईन । उनको उपचारमा सँलग्न डाक्टरका अनुसार उनको पेटभित्रको बच्चा २।३ दिन पहिले नै मृत्यु भईसकेको थियो । पेट भित्रको बच्चा मृत अवस्थामा जन्मिएपछि अत्यधिक रक्तश्राबका कारण आमाको पनि मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताउनु भयो ।
उच्च रक्तश्राब हुनथाले पछि थप उपचारको लागि रेफर गर्ने तयारीमा थियौं । एम्बुलेन्सपनि तयारी अवस्थामा थियो । रेफर गर्दा रक्तश्राब रोक्नु पर्ने भएकाले रक्तश्राब रोक्ने बिधिको प्रयोग गर्दा गर्दै आमाको मृत्यु भयो । जिल्ला अस्पतालका ४ डाक्टरले बचाउने प्रयास गरेको भएपनि उच्च रक्तश्राबका कारण आमालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।